पर्यटनमन्त्री किराती लुम्बिनीमा, गुरुयोजना पहिलो प्राथमिकता
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती आइतबार लुम्बिनी पुग्नुभएको छ । लुम्बिनीको दर्शन गर्न उहाँ पहिलोपटक लुम्बिनी पुग्नुभएको हो ।

“सानैदेखि लुम्बिनीका बारेमा सुनेको, पढेको थिएँ तर भौतिक रुपमा आउन पाएको थिएन”, मन्त्री किरातीले भन्नुभयो, “समग्रमा लुम्बिनी राम्रो लाग्यो ।” उहाँले मायादेवी मन्दिरको दर्शन गरी दीप प्रज्वलनसमेत गर्नुभयो ।
लुम्बिनी भ्रमणपछि सञ्चारकर्मीसँग मन्त्री किरातीले लुम्बिनी गुरुयोजनालाई पहिलो प्राथमिकतामा राखी अगाडि बढ्ने बताउनुभयो । उहाँले गुरुयोजना धेरै पछाडि परेको उल्लेख गर्दै यसलाई पूरा गर्न निर्देशन दिनुभयो ।
लुम्बिनी गुरुयोजनाभन्दा बाहिर गएर काम गर्ने साहस नगर्न उहाँले कोषका पदाधिकारीलाई चेतावनीसमेत दिनुभयो । “सबभन्दा पहिला हामीले लुम्बिनी गुरुयोजना पूरा गर्नुपर्ने हुन्छ, तोकिएका समयभन्दा २८ वर्ष बढी किन लम्बियोे भन्ने मेरो चासो रहेको छ”, किरातीले भन्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्