संविधान संशोधन गर्न सरकार र नेकपा तयार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न सरकार र आफ्नो पार्टी तयार रहेको बताउनुभएको छ ।
भ्रमण वर्ष २०२० लाई लक्षित गरी सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकास्थित महेशबारीमा बिहिबारदेखि शुरु भएको झण्डा मेला महोत्स २०७६ को उद्घाटन गर्नुहुँदै उहाँले भन्नुभयो, “मधेशी, जनजाति उपेक्षित समुदायको अधिकार सुनिश्चित गर्ने बाटो खुला रहेकाले संविधानमा आवश्यक संशोधन र परिमार्जन गर्न सरकार र आफ्नो पार्टी तयार रहेको छ ।”
“हामीले यो संविधान घोषणा गर्दै गर्दा एउटा कुरा बडो सचेत रूपमा राखेका छौँ”, पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले भन्नुभयो, “विगतका संविधानमा राजनीतिक मुद्दा र जनताको अधिकारका मुद्दालाई बेला–बेलामा अपरिवर्तनीय भन्दिने र बन्ध्याकरण गर्ने प्रावधानहरु हुने गर्दथ्यो, तर यो पटकको संविधानमा हामीले देशको सार्वभौमसत्ता, राष्ट्रिय स्वाधिनता र भौगोलिक अखण्डताबाहेक सबै विषयहरु जनताको चाहना र आकाङ्क्षाअनुरुप परिवर्तन गर्न सकिने र संशोधन गर्न सकिने विषयका रुपमा राखेका छौँ ।”
उहाँले तराई–मधेश होस् वा हिमाल–पहाड होस् सबै जनताको आकाङ्क्षाअनुरुप संविधानलाई परिमार्जन गर्दै जाने लोकतान्त्रिक प्रावधान संविधानमा राखिएकाले यसलाई परिवर्तन गर्न सकिने बताउनुभयो । तराई–मधेश, हिमाल–पहाड सबैलाई एकताको सूत्रमा जोडेर देशमा अधिकारसँगै विकास र समृद्धिको लडाइँलाई नयाँ उचाइ दिने ठूलो जिम्मेवारी आफ्नो काँधमा आएको उल्लेख गर्नुहुँदै अध्यक्ष प्रचण्डले तराई–मधेश र हिमाल–पहाडका ऐतिहासिक, सांस्कृति कुराहरु बुझेर देशलाई एकताको सूत्रमा बाँध्नका लागि आफूले पुलको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले तराई–मधेशको पूर्वाधार विकासका लागि सरकारले सडक, खानेपानी, स्वास्थ्य, शिक्षालगायत सबै कुरा समेटेर विशेष प्याकेज ल्याउन लागेको छ भन्दै त्यसबाट मधेशले विकासमा ठूलो फड्को मार्ने दाबी गर्नुभयो । “मधेशको विकासबिना मधेशी जनताको आवश्यकतालाई सम्बोधन गर्न सकिन्न भन्ने कुरामा आफू र आफ्नो पार्टीले बुझेको छ”, उहाँले भन्नुभयो, “यसबारेमा हामी स्पष्ट छौँ, त्यो कुरा यो सरकार र नेकपाले मात्र पूरा गर्न सक्छ भन्नेमा विश्वस्त छौँ ।”
अध्यक्ष प्रचण्डले तराई–मधेशमा निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माण, पूर्वपश्चिम रेल्वे, फास्टट्र्याक निर्माण, औद्योगिकग्राम स्थापना, धार्मिकस्थलको संरक्षण र विकास, मेडिकल कलेज र विश्वविद्यालयको स्थापना, सिँचाइका पूर्वाधारको विकास, कलकारखानाको स्थापनालगायतका विकास निर्माणका योजनाहरु विस्तारै अघि बढिसकेको उहाँले जानकारी दिनुभयो ।
पञ्चायतविरुद्धको आन्दोलनदेखि अहिलेसम्म विभिन्न समयमा आफू सिरहासहितका तराई–मधेशको जिल्लामा आएर काम गरेको स्मरण गर्नुहुँदै उहाँले आफू तराई–मधेश आउँदा एउटा छोरी माइत आएकोजस्तै आफू माइत आएको अनुभूति भइरहेको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्