राजनीति

संसद्को अवरोध हटाउन सरकारलाई सभामुखको आग्रह

सङ्घीय संसद्मा देखिएको अवरोध खुलाउन सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई आग्रह गर्नुभएको छ । सभामुखको कार्यकक्षमा आइतबार कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुसँग छलफल गर्दै सभामुखले सो आग्रह गर्नुभएको हो ।

संसद्मा लामो समयसम्म अवरोध रहिरहनु राम्रो नभएको भन्दै सभामुखले त्यसका लागि गम्भीर भएर लाग्न कानुन मन्त्री बडुलाई आग्रह गर्नुभएको हो । सङ्घीय संसद्को प्रतिनिधिसभाको बैठक यही माघ २६ गतेका लागि बोलाइएको छ ।

सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार संसद्को गत्यावरोध अन्त्य गर्ने विषयमा उहाँहरूबीच छलफल भएको हो । प्रमुख प्रतिपक्षी नेकपा(एमाले)ले सङ्घीय संसद्को बैठक लगातार अवरोध गरिरहेको छ ।

राष्ट्रिय महत्वका विविध विषयमा संसद्मा छलफल हुनुपर्नेमा त्यसो हुन नसक्दा जनप्रतिनिधिको थलो संसद्ले नियमित काम गर्न नपाएको भन्दै सभामुखले सहमतिका साथ सबै दल प्रस्तुत हुन आग्रह गर्नुभएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री निवास बालुवाटारमा पनि संसद्को गत्यावरोध अन्त्य गर्नेलगायतका विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button