राजनीति

राष्ट्रिय हितमा एमसीसी पास हुन्छ, लिम्पियाधुरा क्षेत्र समेटेर नयाँ नक्सा जारी हुन्छ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालले कूटनीति पक्षलाई जोगाउँदै राष्ट्रिय हितमा एमसीसी पास हुने जनाउनुभएको छ । नेकपाद्वारा मङ्गलबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय ‘बृहत्तर अगुवा कार्यकर्ता भेला’ कार्यक्रमको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

त्यस क्रममा उहाँले एमसीसी अध्ययन कार्यदलले ल्याएको प्रतिवेदन सचिवालयको छलफलपछि मुलुकको सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता र स्वतन्त्रतामाथि असर नपर्ने गरी पास हुने जानकारी दिनुभयो । त्यस्तै उहाँले लिपुलेक, लिम्पियाधुरा, कालापानीका बारेमा भारतीय सरकारलाई लिखित जानकारी गराइसकिएको र अब सरकारले लिपुलेक, लिम्पिलियाधुरा सम्मिलित नेपालको नयाँ नक्सा जारी गर्ने बताउनुभयो ।

उहाँले नेकपाले नेपालको राजनीतिक मानचित्र बदलेको बताउँदै विश्वमा कम्युनिष्ट शक्तिहरु कमजोर भइरहेको बेला नेपालमा बलियो भएर आएका छन् भन्नुभयो । “दुवै पार्टीको एकताबाट एक असाधारण र ऐतिहासिक काम भएको छ”, उहाँले भन्नुभयो, “यसले नेपालको राजनीतिक मानचित्र बदलेको छ ।”

नेपालको कम्युनिष्टहरुलाई कमजोर पार्न अर्बौको लगानी भइरहेको खुलासा गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “समय पाए यसबारे फेहरिस्त भन्न सकिन्छ । कम्युनिष्ट एकता आजको प्रयासले मात्र नभई विभिन्न ऐतिहासिक कालखण्डदेखिको बहस, छलफल, द्वन्द्ववादी, भौतिकवादी आवश्यकताका आधारमा भएको हो ।”

पूर्वप्रधानमन्त्री एवं नेकपाका माधव नेपालले कम्युनिष्ट पार्टी कमिटी प्रणालीमा विश्वास गर्ने बताउनुभयो । “नेपालमा राजनीतिक क्रान्ति पूरा भएको छ”, उहाँले भन्नुभयो, “अब आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणको आवश्यक छ ।”

नेता नेपालले नेकपाको राष्ट्रियताको मुद्दाले जनतालाई आकर्षित गरेको जिकिर गर्दै कार्यकर्ताको मूल्याङ्कन उसको आचरण र कामका आधारमा हुने प्रष्ट्याउभयो ।

नेकपा महासचिव विष्णु पौडलले कम्युनिष्टले हनुमानले जडीबुटी ल्याऊभन्दा दोर्णाचल पर्वत उचालेर ल्याएजस्तो काम नेकपाले गरेको तर्क गर्नुभयो । जनताको पीडा, समस्या र अभावमा कम्युनिष्टको परीक्षा भइरहको बताउँदै वडास्तरदेखि केन्द्रतहसम्मका सबै नेता कार्यकर्ताले जनताका पक्षमा असल काम गर्नुपर्नेमा उहाँले जोड दिनुभएको थियो ।

महासचिव पौडेलले भन्नुभयो, “पार्टी नेतृत्वसँग कर्णालीको पीडा छ । यहाँहरुले भन्नुभएको छ कि सङ्घीय सरकारले किन बुझ्दैन कर्णाली रु अब कर्णालीको पीडा र भइरहेको विभेद हुन नदिने वाचा गर्दछु ।”

कार्यक्रममा नेकपा स्थायी समिति सदस्य तथा कर्णाली प्रदेशका इन्चार्ज जनार्दन शर्माले नेतृत्वको थोरै सहयोग पुगे कर्णाली अगाडि बढ्ने बताउनुभयो । उहाँले कर्णालीको मर्म बुझ्न नेतृत्वलाई अनुरोध गर्दै नेकपाको एकीकृत शक्तिले यहाँको पहाडलाई भत्काएर मैदान बनाउन सकिने दृढता व्यक्त गर्नुभयो ।

सहइन्चार्ज यामलाल कँडेलले सरकार तथा केन्द्र पार्टीले कर्णालीको विकासबिना मुलुकको विकास र समृद्धि असम्भव भएको बताउनुभयो ।। उहाँले प्रदेशपिच्छेको धरातल फरक भएको औल्याउँदै परिस्थिति, परिवेश, सुचकाङ्क र अवस्था बुझेर काम गर्न केन्द्रीय नेतृत्वलाई सुझाउनुभयो । भेला कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारले गरेका कामकारवाहीका बारेमा जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा कर्णाली प्रदेशका अध्यक्ष गोरखबहादुर बोगटीसहित यहाँका १० वटै जिल्लाका नेकपाका अध्यक्षले जिल्लास्तरमा हालसम्म भए/गरेका पार्टीका काम, गतिविधि र अन्य प्रगतिको विवरण प्रस्तुत गर्नुभएको थियो । भेलामा कर्णाली प्रदेश समितिका पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्ला इन्चार्ज, अध्यक्ष, सचिवसहित पार्टी अगुवाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.