जन सरोकार

शिवरात्रि मान्छे हराउनेदेखि पाकेट मार्नेसम्मको विगविगी- हराएका दुई सय ३३ जनालाई आफन्तको जिम्मा

सात लाखभन्दा बढीले पशुपतिनाथको दर्शन गरे

हिन्दु धर्मावलम्बीहरुको आराध्यदेव भगवान शिव प्रादुर्भाव भएको दिन महाशिवरात्रिमा पशुपतिनाथ दर्शन गर्न आउनेहरुको भीडमा दर्शनार्थीहरुको सामान चोरी गर्नेको संख्या पनि उत्तिकै बढेको पाइएको छ । शुक्रबार पशुपति क्षेत्र परिसरबाट सयौं महिलालाई पाकेट मारेको आरोपमा प्रहरीले पक्राउ गर्यो भने हराएका २ सय ३३ जनालाई फेला पारी आफन्तको जिम्मा लगाएको छ ।

पशुपति क्षेत्रमा पाकेट मारिएका पर्सहरु जताततै फालिएका देखिन्थे भने प्रहरीले पर्स फेला पारी त्यहाँ भएका कागजातका आधारमा सम्बन्धितलाई फिर्ता दिने काम पनि भैरहेको थियो । दर्शनाथीजस्तै बनेर उनीहरुसंग हिंड्दै हाते झोलाबाट पर्स चोर्नेहरुको फन्दामा पर्नेमध्येकी एक विमला थपलिया मिश्र पनि हुन् ।

आफ्नी वृद्धआमालाई लिएर पशुपति दर्शन गर्न पुगेकी उनी केही समयको अन्तरमा आफ्नो पर्स चोरी भएको पत्तो पाएपछि प्रहरीलाई खबर त गरिन तर पर्स फेला परेन । जब उजी प्रहरी कक्षमा पुगिन त्यहाँ थुप्रै पाकेटमार युवतीहरु देखेर चकित परेको प्रतिक्रिया दिइन् ।

यसै गरी शिवरात्रिमा पशुपतिनाथ दर्शन गर्ने भक्तजनको सहयोगका लागि सञ्चालन गरेको खोजखबर कक्षमार्फत हराएकालाई फेला पारी आफन्तको जिम्मा लगाइएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

हराएका भक्तजनको सुरक्षा एवं विविध मानवीयसेवा पु¥याउने उद्देश्यले सामुदायिक सेवा केन्द्र चावहिललगायतको सहभागितामा पशुपति क्षेत्र परिसरमा सामुदायिक प्रहरी कमाण्ड पोष्ट तथा खोजखबर कक्ष सञ्चालन गरिएको थियो । फेला परेकामा आठ जना बालबालिकासमेत छन् ।

उक्त पोष्ट तथा कक्षमार्फत नेपाल प्रहरी अस्पताल महाराजगञ्जका चिकित्सकद्वारा स्वास्थ्य सेवासमेत उपलब्ध गराइएको प्रहरीले जनाएको छ । विगतमा भिडमा आफन्त हराएको गुनासो बढेकाले यसपाली व्यवस्थित रुपमा खोजखबर कक्ष सञ्चालन गरिएको प्रहरीले जनाएको छ । प्रहरीले ५०० भन्दा बढी सुरक्षाकर्मी खटाएकाले अप्रिय घटना भने हुन नपाएको जनाइएको छ ।

सात लाखभन्दा बढीले पशुपतिनाथको दर्शन गरे

महाशिवरात्रिका शुभ दिन आज विश्वभरका हिन्दूका आराध्यदेव पशुपतिनाथको सात लाखभन्दा बढीले दर्शन एवं पूजार्चना गरेका छन् । शुक्रबार बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलेर देवाधिदेव महादेवको जलधारासहित अखण्ड पूजन भइरहेको छ र यो समाचार तयार गरिएका बेलासम्ममा सात लाखभन्दा बढी भक्तजनले दर्शन गरेका पशुपति क्षेत्र विकास कोषले बताएको छ ।

रातभर शिवपूजन, भजन र रुद्राभिषेकसँगै पशुपतिनाथका चारै प्रहर चारवटै द्वार खोलेर दर्शनको व्यवस्था मिलाइएकाले १० लाख भक्तजनले भगवान् पशुपतिनाथको दर्शन गर्ने अपेक्षा गरिए पनि वर्षाका कारण दर्शनार्थी घटेका हुन् ।

त्यसो त शिवरात्रिका दिन वर्षा हुनुलाई शुभ मानिन्छ र अपराह्नदेखिको झरीको कुनै परवाह नगरी दर्शनार्थीले पशुपतिनाथको दर्शन गरेका र करीब सात हजार तीर्थयात्री, भक्तजनलाई ओत लाग्ने व्यवस्था गरिएको उहाँ बताउनुहुन्छ ।

पचपन्नवटा धार्मिक–सामाजिक सामाजिक संस्थाले वनकालीमा एकीकृत रुपमा करीब पाँच हजार भक्तजनको सुुविधाका निम्ति भोजन, घामपानी छेक्ने त्रिपाल र पण्डाल खडा गरेका तथा भारतबाट आएका झण्डै २५०० तीर्थयात्रीलाई त्यस्तै सुरक्षित संरचना बनाएकाले तीर्थयात्रीको बिचल्ली नभएको पराजुलीले स्पष्ट गर्नुभयो ।

साधु, सन्त, महन्त, नाँगा बाबा लगायतले धुनी जगाएर जाडोभगाएका र उनीहरुलाई पनि मन्दिर परिसर, राममन्दिर, भष्मेश्वरसहित क्षेत्रमा त्रिपालको व्यवस्था गरिएको छ ।

महाशिवरात्रिका दिन पाशुपत क्षेत्रमा सुरक्षालगायत सम्पूर्ण व्यवस्थापन पक्षलाई कोषसहित सरकारी एवं गैरसरकारी सङ्घसंस्थाको सहभाागितामा एकीकृतरुपमा सुदृढ तुल्याइएको र कुनै किसिमका अप्रिय घटना नभएका प्रहरी वृत्त गौशालले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.