स्व. अधिकारीको स्मृति दिवसमा थामिएनन् विद्याका आँशु

फागुन १५ गते आज तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी निधन भएको दिन उहाँको प्रथम स्मृति दिवस मनाउँदै गर्दा पोखरास्थित राष्ट्रिय सभागृह हलमा रवीन्द्र पत्नी तथा कास्की क्षेत्र नं. २ की सांसद विद्या भट्टराईका आँशु थामिएन ।
शोकलाई शक्तिमा बदल्दै उप निर्वाचनमार्फत प्रतिनिधिसभा सदस्य बन्नुभएका भट्टराई स्मृति दिवसको कार्यक्रम शुरु हुँदादेखि नै भावुक देखिनुहुन्थ्यो ।
अधिकारीको विद्यार्थीकालदेखि राजनीतिका विभिन्न कालखण्ड र घटनाक्रमसँग जोडिएका भिडियो जब हलमा राखिएका स्क्रिनमा देखाइए तब विद्यालगायत सबैलाई भाव शून्य बनाइदियो । विद्या एकटकले भिडियो हेरिरहनुभएको थियो, अनवरत उहाँका आँशु बगिरहेका थिए ।
उहाँसँग रहनुभएका राजनीति सहयोद्धा संस्कृतिमन्त्री भट्टराई पनि निकै भावुक भएर रवीन्द्रलाई हेरिरहनुभएको थियो । रवीन्द्रका राजनीतिक उपलब्धिलाई समेटिएको भिडियोमा उहाँले नेतृत्व गरेका विद्यार्थी सहुलियतदेखि संसद्मा बोलेका महत्वपूर्ण प्रस्ताव, उच्चस्तरीय भेटघाट लगायतका महत्वपूर्ण कुरालाई उतारिएको थियो । दुर्घटना हुनुपूर्व ताप्लेजुङमा गरेको अन्तिम सम्बोधन हेर्दा दर्शक दीर्घाबाट सुक्क सुक्क आवाज आएको थियो ।
बालबालिकादेखि युवा, वयस्क र ज्येष्ठ नागरिकसम्मको मनमा बस्न सफल अधिकारीको अन्तिम दाह संस्कारको तस्बीर र भिडियोले पत्नी विद्या हलका सबै दर्शक भावुक बनेका थिए । कास्की रवीन्द्र अधिकारीको जन्मथलो मात्र नभई उहाँलाई राजनीतिको उचाइमा पुर्याउने जिल्ला पनि हो । कस्केली जनताले २०६४ र २०७० सालको संविधानसभा सदस्यमा कास्की क्षेत्र नं ३ बाट निर्वाचित गराएका थिए । त्यस्तै २०७४ सालको प्रतिनिधिसभा सदस्यमा कास्की क्षेत्र नं. २ बाट उहाँ निर्वाचित हुनुभएको थियो ।
तसर्थ पनि सो स्मृति सभामा पार्टीका नेता कार्यकर्ता मात्र थिएनन् फरक विचार र आस्था भएका व्यक्ति समेतको उल्लेख्य सहभागिता थियो । उहाँले २०७४ चैत २ गते नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री जिम्मेवारी सम्हालेका अधिकारीको गत वर्ष फागुन १५ गते ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटनामा निधन भएको थियो ।