अभिनेता पल शाह रिहा
बालिका बलात्कारको आरोप लागेका अभिनेता पूर्णविक्रम (पल) शाह रिहा हुनुभएको छ। आइतबार उच्च अदालत पोखरा सफाइ दिएसँगै उहाँ आज (सोमबार) रिहा हुनुभएको हो ।
शाहलाई उहाँका कानुन व्यवसायी कमलामोहन वाग्ले र परिवारका सदस्यले जिम्मा लिनुभएको हो । उहाँहरुले खादा र माला लगाएर पलको स्वागत गर्नुभएको थियो ।
उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले नायक शाहलाई सफाइ दिएको हो । नवलपुर अदालतले बालयौन दुराचारको मुद्दामा शाहलाई साढे दुई वर्ष कैदको फैसला सुनाएको थियो । शाहले उक्त फैसला विरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन दिनुभएको थियो । उच्च अदालतको आइतबारको इजलासले उक्त मुद्दामा अभियोग दाबी नपुग्ने ठहर गरेको उच्च अदालत पोखराका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिनुभयो ।
यसअघि उच्च अदालत पोखराले १५ दिन अगाडि दुवै पक्षलाई झिकाउने आदेश दिएको थियो । नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा तनहुँ कारागारमा थुनामा रहेका नायक पल शाहलाई तनहुँ अदालतले भने सफाइ दिइसकेको थियो । नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै शाह विरुद्ध गत फागुन ११ गते तनहुँ प्रहरीमा उजुरी परेको थियो । शाहले फागुन १५ गते प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए । शाहलाई चैत १० गते तनहुँ अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
तस्विर – हेमराज थापाको फेसबुकबाट





प्रतिक्रिया राख्नुहोस्