जिम्बाबे आईसीसी टी-२० विश्वकप २०२६ को सुपर-८ बाट बाहिरिएको छ । बिहीबार राति भएको खेलमा भारतसँग ७२ रनले पराजित हुँदै जिम्बाबे प्रतियोगिताबाट बाहिरिएको हो ।
जितसँगै भारतले भने सेमिफाइनल सम्भावना बलियो बनाएको छ । भारतको चेन्नाईस्थित चिदमबरम क्रिकेट रंगशालामा भएको खेलमा टस हारेर ब्याटिङमा आएको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २ सय ५६ रन बनाएको थियो ।
भारतका लागि ओपनर अभिषेक शर्माले ३० बलमा समान चार चौका र छक्का प्रहार ५५ रनको अर्धशतकीय पारी खेले भने हार्दिक पाण्ड्याले २३ बलमा दुई चौका र चार चौकाको मद्दतमा अविजित रहँदै ५० रनको अर्धशतकीय इनिङ खेले । त्यस्तै तिलक वर्मा १६ बलमा तीन चौका र चार छक्का प्रहार गर्दै ४४ रनमा अविजित रहे भने इशान किशनले २४ बलमा चार चौका र एक छक्काको सहयोगमा ३८ रन जोड्दा कप्तान सुर्यकुमार यादवले ३३ रन जोडेका थिए ।
जिम्बाबेको लागि रिचार्ड एनगरावा, ब्लेसिङ मुजरबानि, टिनोटेन्डा मोपासा र सिकन्दर राजाले समान एक-एक विकेट लिए । घरेलु टोलीले प्रस्तुत गरेको २ सय ५६ रनको विशाल लक्ष्य पछ्याएको जिम्बाबेले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८४ रन मात्र बनाउन सक्यो ।
जिम्बाबेको लागि ओपनर ब्रायन बेन्निटले ५९ बलमा आठ चौका र ६ छक्का प्रहार गर्दै अविजित रहँदै९७ रनको अर्धशतकीय पारी खेले भने कप्तान सिकन्दर राजाले २१ बलमा समान दुई चौका र छक्काको मद्दतमा ३१ रन बनाए ।
यस्तै टाडिवनाशे मारुमानीले २० रन जोड्दा टोनी मुन्योगांले ११ रन बनाए । भारतको लागि अर्सदीप सिंहले तीन विकेट लिए भने वरुण चक्रवर्ती, शुभम दुवे र अक्षर पटेलको भागमा समान एक-एक विकेट रह्यो ।
जितसँगै भारत दुई खेलमा दुई अंक जोड्दै सुपर–८ को समूह ‘ए’ को तेस्रो स्थानमा रहेको छ भने समान खेलमा अंकविहिन जिम्बाबे तालिकाको पुछारमा रहेको छ । भारत विजयी भएसँगै बिहीबार नै भएको पहिलो खेलमा वेस्ट इन्डिजलाई ९ विकेटले पराजित गरेको दक्षिण अफ्रिका एक खेल अगावै अन्तिम चारमा पुगेको छ । भारतको अहम्दाबादस्थित नरेन्द्रमोदी क्रिकेट रंगशालामा वेस्ट इन्डिजले प्रस्तुत गरेको १ सय ७७ रनको लक्ष्य दक्षिण अफ्रिकाले १६.१ ओभरमा एक विकेट गुमाएर पूरा गरेको थियो ।
अब वेस्ट इन्डिज र भारतबीच हुने खेलको विजयी हुने टिम सेमिफाइनल यात्रा तय गर्नेछ भने हारसँगै विश्वकपबाट बाहिरियो जिम्बाबे आफ्नो अन्तिम खेल दक्षिण अफ्रिकासँग खेल्नेछ ।




प्रतिक्रिया राख्नुहोस्