पाकिस्तान आईसीसी टी-२० विश्वकपबाट बाहिरिएको छ । शनिबार राति भएको सुपर-८ को खेलमा श्रीलंकालाईं पाँच रनले पराजित गरे पनि न्युजिल्यान्डसँग रनरेटले पछि पर्दा पाकिस्तान विश्वकपबाट बाहिरिएको हो ।
यता न्युजिल्यान्ड भने पाकिस्तानलाई रनरेटमा पछि पार्दै टी-२० विश्वकपको अन्तिम चारमा पुगेको छ । श्रीलंकालाई घरेलु मैदान पाल्लेकेले क्रिकेट रंगशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २ सय १२ रन बनाएको थियो ।
पाकिस्तानको लागि ओपनर साहिवजादा फरहानले ५९ बलमा नौ चौका र पाँच छक्का प्रहार गर्दै १०० रनको शतकीय पारी खेले । योसँगै उनी टी–२० विश्वकप २०२६ मा दोहोरो शतक प्रहार गर्ने पहिलो ब्याटर बनेका छन् । त्यस्तै अर्का ओपनर फखहर जमानले ४२ बलमा नौ चौका र चार छक्काको मद्दतमा ८४ रनको अर्धशतकीय पारी खेले । यी दुईले पहिलो विकेटको लागि १ सय ७६ रनको शतकीय साझेदारी गरेका थिए ।
श्रीलंकाका लागि दिलशन मधुशान्काले तीन विकेट लिए भने दसुन शनाका र दुशमन्था चमिराको भागमा समान दुई-दुई विकेट रह्यो । पाकिस्तानले प्रस्तुत गरेको २ सय १३ रनको लक्ष्य लिएर मैदान उत्रेको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय ७ रन बनायो ।
श्रीलंकाका लागि कप्तान दसुन शनाकाले ३१ बलमा दुई चौका र आठ छक्का प्रहार गर्दै अविजित रहँदै ७६ रनको अर्धशतकीय पारी खेले भने पवन रथनायकेले ३७ बलमा चार चौका र तीन छक्काको मद्दतमा ५८ रनको अर्धशतकीय इनिङ खेले । यस्तै ओपनर कामिल मिसाराले २६ रन जोड्दा चरिथ असलंकाले २५ रन बनाए ।
पाकिस्तानको लागि अब्रार अहमदले तीन विकेट लिए भने शाहिन साह अफ्रिदी, निसिम साह र मोहम्मद नवाजको भागमा समान एक-एक विकेट रह्यो । पाकिस्तानले सेमिफाइनल प्रवेश गर्नको लागि श्रीलंकलाई १ सय ४७ रनमा समेटिनुपर्ने थियो । तर, श्रीलंकाले उत्कृष्ट प्रदर्शन गरेपछि पाकिस्तान सेमिफाइनल पुग्न सकेन । समूह बी बाट इंग्ल्यान्ड समूह विजेता र न्युजिल्यान्ड उपविजेता बन्दै अन्तिम चारमा पुगेका छन् ।




प्रतिक्रिया राख्नुहोस्