जापान

क्यान्सर पीडित पन्थीलाई अर्घाखाँची समाजको १ लाख ७० हजार सहयोग

अर्घाखाँची समाज जापानले ब्लड क्यान्सर पीडित मिना पन्थीलाई आर्थिक सहयोग गरेको छ । अर्घाखाँची मालारानी गाउपालीका ९ गोखुङ्गा निवासी १८ वर्षीय पन्थीलाई उपचारको लागी नगद १ लाख ७० हजार सहयोग गरेको हो ।

बिगत ४ महिनादेखि ब्लड क्यानसरसंग लडिरहेकी पन्थीलाई समाजका सल्लाहकार दिपक थापाले शनिबार काठमाडौंको सिभिल अस्पतालमा पुगी रकम हस्तान्तरण गर्नुभएको हो । त्यस क्रममा थापाले पन्थीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारका लागि आवश्यक परेमा समाजले थप सहयोग गर्ने आश्वासन दिनुभयो ।

सामान्य परिवारमा जन्मिएकी पन्थीको उपचार खर्च महङ्गो भएकाले पन्थीका परिवारले सहयोगका लागि अपिल गरेका थिए । २ छोरा र ५ छोरी रहेको परिवारमा पीडित पन्थी कान्छी छोरी हुन । क्यान्सर पीडित पन्थीको उपचारका लागि समाजले जापानमा अभियान संचालन गरेको थियो । समाजका उपाध्यक्ष नेत्र पन्थीको पहलमा मिना पन्थी उपचार सहयोगार्थ अभियान संचालन गरी रकम संकलन गरेको समाजका महासचिव नारायण भुसालले जानकारी दिनुभयो ।

अभियानमा जापानमा रहेका अर्घाखाँचीबासीसंगै केही जापानी नागरिकले पनि आर्थिक सहयोग गरेका थिए । संकलित रकम फोरेक्स जापान मार्फत पठाईएको थियो ।

जापानमा रहेका अर्घाखाँचीबासीहरुको साझा घर अर्घाखाँची समाज हो । २०१५ सालमा स्थापना भएको समाजले यस अघि पनि विभिन्न अभियान संचालन गरी जिल्लामा आईपरेका भैपरी समस्यालाई सहयोग गर्दै सहयात्री बन्दै आएको छ ।

सम्बन्धित खबर

Back to top button