जापान

आतंकवादविरोधी अभ्यासमा प्रयोग गरिएको पोसाकलाई लिएर आलोचना

जापानको परराष्ट्र मन्त्रालयले यसै महिना गरेको आतंकवादविरोधी अभ्यासमा प्रयोग गरिएको पोसाक मध्यपूर्व र इस्लामिक संसारसँग विशेष रूपमा जोडिने खालको भएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको छ।

आलोचना बढेपछि मन्त्रालयले आफ्नो सामाजिक सञ्जालमा सार्वजनिक गरेको अभ्याससम्बन्धी एउटा तस्बिर हटाएको छ। तस्बिर हटाउनुको कारणबारे शुक्रबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री तोसिमित्सु मोतेगीले भने, “हामीले विभिन्न रायलाई गम्भीरतापूर्वक लिएका छौँ।”

“जापानी नागरिकको सुरक्षाका लागि यो अभ्यास निकै महत्वपूर्ण छ,” मोतेगीले जोड दिँदै भने, “उचित समयमा उपयुक्त सूचना सार्वजनिक गर्नुका साथै विषयलाई सावधानीपूर्वक स्पष्ट पार्ने काम गर्नेछौँ।”

सेप्टेम्बर १० मा टोकियोस्थित एक सरकारी कार्यालयमा सुरक्षा कम्पनीसँगको सहकार्यमा उक्त अभ्यास गरिएको थियो। सम्भावित आतंकवादी हमला तथा विदेशमा रहेका जापानी नागरिकको अपहरण हुन सक्ने अवस्थाका लागि तयारी गर्नु अभ्यासको उद्देश्य थियो।

मन्त्रालयले एक्स (पूर्वट्विटर)मा अभ्याससम्बन्धी जानकारी सार्वजनिक गर्दा एउटा तस्बिर पनि राखेको थियो। तस्बिरमा टाउकोमा स्कार्फ बाँधेको एक आतंकवादीको भूमिकामा रहेका व्यक्तिले बन्धकको टाउकोमा झोला लगाइरहेको देखिन्थ्यो।

उक्त तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना भयो। केहीले त्यसमा प्रयोग गरिएको पोसाक परम्परागत अरब शैलीको टाउकोमा बाँधिने स्कार्फसँग मिल्दोजुल्दो रहेको भन्दै यसले अत्यधिक रूढीवादी छवि प्रस्तुत गरेको बताएका थिए।

कतिपयले यसले भेदभावलाई बढावा दिन सक्ने भन्दै यस्तो अभ्यासप्रति आपत्ति जनाए। अर्कोतर्फ, केहीले अभ्यासलाई यथार्थपरक तालिम भन्दै आलोचनामाथि प्रश्नसमेत उठाएका थिए।

यसको जवाफमा मन्त्रालयले सामाजिक सञ्जालमार्फत आतंकवादीको भूमिकाका लागि प्रयोग गरिएको पोसाक कुनै विशेष जातीय समूह, क्षेत्र वा धर्मलाई लक्षित गरेर तयार नगरिएको स्पष्ट पारेको थियो। साथै, यसबाट कुनै गलत बुझाइ उत्पन्न भएको भए त्यसप्रति दुःख व्यक्त गरेको थियो।

तर तस्बिर हटाए पनि सामाजिक सञ्जालमा भइरहेको आलोचना पूर्ण रूपमा रोकिएको छैन।

सन् २०१६ मा बंगलादेशको राजधानी ढाकामा भएको आतंकवादी हमलाबाट प्राप्त अनुभवका आधारमा जापानी परराष्ट्र मन्त्रालयले सन् २०१८ देखि यस्ता आतंकवादविरोधी अभ्यास गर्दै आएको छ। उक्त हमलामा सात जापानी नागरिकसहित २२ जनाको मृत्यु भएको थियो।

सुरक्षा कम्पनीका अनुसार ढाका हमलामा संलग्न आतंकवादीहरूले हतियार प्रयोग गर्ने तालिम लिएका थिए। त्यसैलाई ध्यानमा राख्दै यस्ता अभ्यासलाई सकेसम्म व्यावहारिक बनाउने प्रयास गरिएको हो।

मन्त्रालयले चालु आर्थिक वर्षमा थप तीनवटा यस्ता अभ्यास गर्ने योजना बनाएको छ। मन्त्रालयका एक वरिष्ठ अधिकारीले भने, “सूचना कसरी र कुन रूपमा सार्वजनिक गर्ने भन्नेबारे हामी विचार गर्नेछौँ। तर सामाजिक सञ्जालमार्फत कसरी सूचना प्रवाह गर्ने भन्ने कुरा वास्तवमै कठिन छ।”

समाचार र तस्वीर स्रोत- ‘द जापान टाइम्स’

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.