भारत वेस्ट इन्डिजलाई पराजित गर्दै आईसीसी टी–२० विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको सुपर–८ को अन्तिम खेलमा वेस्ट इन्डिजलाई ५ विकेटले पराजित गर्दै आयोजक भारत अन्तिम चारमा पुगेको हो ।
कोलकातास्थित इडेन गार्डेन क्रिकेट रंगशालामा भएको खेलमा टस हारेर ब्याटिङमा आएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि ओपनर रोस्टन चेजले २५ बलमा पाँच चौका र एक छक्का प्रहार गर्दै सर्वाधिक ४० रन बनाए भने जेसन होल्डरले २२ बलमा दुई चौका र तीन छक्काको मद्दतमा ३७ रनमा अविजि रहे ।
त्यस्तै रोभ्मान पावेलले ३४ रन जोड्द कप्तान साइ होपले ३२ , शिमरन हेटमायरले २७ र शेरफन रथरफोर्डले १४ रन बनए । भारतका जस्प्रीत बुम्राहले दुई विकेट लिए भने हार्दिक पाण्ड्या र वरुण चक्रवर्तीको भागमा समान एक-एक विकेट रह्यो । वेस्ट इन्डिजले प्रस्तुत गरेको १ सय ९६ रनको लक्ष्य भारतले १९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।
भारतको लागि ओपनर सन्जु सामसनले ५० बलमा १२ चौका र चार छक्का प्रहार गर्दै अविजित रहँदै ९७ रनको अर्धशतकीय पारी खेले भने तिलक वर्माले २७ रन बनए । यस्तै कप्तान सुर्यकुमार यादवले १८ रन जोड्दा हार्दिक पाण्ड्याले १७ तथा ओपनर अभिषेक शर्मा र इशान किशनले समान १०-१० रन बनाए ।
वेस्ट इन्डिजका लागि जेसन होल्डर र समार जोसेफले समान दुई-दुई विकेट लिए भने अकिल हुुसेनको भागमा एक विकेट रह्यो । जितसँगै भारत तीन खेलमा चार अंक जोड्दै समूह उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ भने समान खेलमा छ जोडेको दक्षिण अफ्रिका समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो ।
यता वेस्ट इन्डिजले समान खेलमा दुई अंक जोड्दै तेस्रो स्थानमा रही प्रतियोगिता सकाएको छ । आइतबार भारतले जित निकालेसँगै सेमिफाइनल पुग्ने चार वटै टिमको टुङ्गो लागेको छ । सुपर–८ बाट भारत, दक्षिण अफ्रिका, इंग्लयान्ड र न्युजिल्यान्डले सेमिफाइनलमा स्थान सुरक्षित गरेका हुन् ।




प्रतिक्रिया राख्नुहोस्