राजनीति

राष्ट्रियसभाका नयाँ १८ सदस्यको शपथ- सहमति र सहकार्यमा काम गर्ने प्रतिबद्धता

राष्ट्रियसभामा छ वर्षे कार्यकालका लागि प्रवेश गर्ने १८ सदस्यले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । नयाँबानेश्वरस्थित संसद् भवनमा बुधबार आयोजित समारोहमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाउनुभयो ।

शपथ लिनेमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का १६ र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का दुई सदस्य हुनुहुन्छ । शपथ लिनु हुनेमा इन्दिरादेवी गौतम, गोपीबहादुर सार्की अच्छामी, देवेन्द्र दाहाल, तुलसाकुमारी दाहाल, राधेश्याम पासवान, शेखरकुमार सिंह, मृगेन्द्रकुमार सिंह यादव, गङ्गाकुमारी बेल्बासे र वेदुराम भुसाल हुनुहुन्छ ।

नवनिर्वाचित सदस्य भगवती न्यौपाने, नारायणकाजी श्रेष्ठ, विमला घिमिरे, जगप्रसाद शर्मा, गोपाल भट्टराई, सुमित्रा बिसी, मायाप्रसाद शर्मा, शारदादेवी भट्ट र तारामान स्वाँरले पनि आजै शपथ लिनुभएको छ । समारोहमा अध्यक्ष तिमिल्सिनाले नयाँ सदस्यलाई सांसदको लोगो लगाइदिनुका साथै बधाई ज्ञापनसमेत गर्नुभयो ।

स्थायी सदनका रुपमा रहेको सङ्घीय संसद्, राष्ट्रियसभा ५९ सदस्यीय रहने संवैधानिक व्यवस्था छ । शपथग्रहण समारोहमा राष्ट्रियसभाका उपाध्यक्ष, राष्ट्रियसभामा संसदीय दलका नेता, मुख्य सचेतक, सचेतक, सदस्य, भर्खरै कार्यकाल समाप्त गरेको पूर्वसांसद र नवनिर्वाचित सदस्यका आफन्तजनको सहभागिता रहेको थियो ।

शपथपछि नवनिर्वाचित राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले समृद्ध नेपाल निर्माणको कार्यभार पूरा गरेर देखाउनुको कुनै विकल्प नभएको बताउनुभएको छ । राष्ट्रियसभा सदस्यको पद तथा गोपनीयताको शपथपछि सभाको आजको बैठकमा बोल्दै उहाँले भन्नुभयो, “छिटोछिटो सरकार परिवर्तन हुने अवस्थाको अन्त्य भएको छ, सरकारले स्थायित्व पाएको छ, राजनीतिक सङ्क्रमण अन्त्य भएको छ, नयाँ संविधान बनेको छ, अब सङ्घर्ष गर्न परेको छैन, अब स्थिरता छैन भन्न पाइँदैन ।”

सरकार समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा हासिल गर्नेतर्फ अघि बढेको उल्लेख गर्दै उहाँले सरकारले पहिलो वर्ष आधार र दोस्रो वर्ष कार्यान्वयन वर्षका रुपमा अगाडि बढाएको बताउनुभयो । “स्वतन्त्र परराष्ट्र नीति, वैदेशिक हस्तक्षेपलाई अस्वीकार गर्दै सरकार अघि बढेको छ”, उहाँले भन्नुभयो, “सङ्घीयता कार्यान्वयनले विस्तारै गति लिँदै गएको छ ।”

सीमा अतिक्रमण रोकी नेपाली भूमि फिर्ता गराउने र राष्ट्रियताको सवालमा सबै शक्ति मिलरे एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै उहाँले लोकतन्त्रको रक्षा, अभ्यास र विकासमा सबैको एकमत हुनुपर्ने बताउनुभयो । मुलुकको समृद्धिका लागि अपार सम्भावना भएको उल्लेख गर्दै उहाँले ती सम्भावनाको समुचित प्रयोग गरिनुपर्नेमा जोड दिनुभयो । “समृद्ध नेपाल, सुखी नेपाली बनाउनु, समाजवाद निर्माण गर्नु अहिलेको आवश्यकता हो”, सांसद श्रेष्ठले भन्नुभयो, “नेपाललाई सभ्य, सुसंस्कृत र समृद्ध मुलुकमा रुपान्तरण गर्नु हो । नयाँ ढाँचाको आर्थिक विकास र सामाजिक न्यायमार्फत समाजवादको आधार निर्माण गर्ने दिशामा अघि बढ्नुनै आजको आवश्यकता हो ।”

अपार सम्भावनायुक्त मुलुक भए पनि लाखौँ युवा विदेशमा पसिना बगाउन बाध्य भएको उल्लेख गर्दै उहाँले उत्पादनमूलक क्षेत्रमा लगानी गरी रोजगारी सिर्जना गर्नेतर्फ अघि बढ्नुपर्नेमा जोड दिनुभयो । सांसद श्रेष्ठले कमीकमजोरी सच्याउँदै अघि बढ्ने, जनताको सामु गरेको प्रतिबद्धता पूरा गरेरै छाड्ने दृढता व्यक्त गर्नुभयो । सबै मिलेर सहकार्य गरेर काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले सहमति र सहकार्यका आधारमा काम गर्न प्रमुख प्रतिपक्षसँग आह्वान गर्नुभयो ।

नवनिर्वाचित सांसदलाई स्वागत गर्दै सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० संसदीय दलका नेता दीनानाथ शर्माले राष्ट्रियसभाले विधेयक पारित गर्ने मात्र नभई जनसरोकारको विषयमा पनि महत्व दिँदै गएको बताउनुभयो । “राष्ट्रियसभाले परिपक्व व्यक्ति पाएको छ, नवनिर्वाचित सदस्यको उपस्थितिले अत्यन्त खुशी बनाएको छ”, उहाँले भन्नुभयो, “राज्यले सुम्पेको अभिभारा पूरा गर्न यहाँहरुको भूमिका महत्वपूर्ण हुनेछ ।”

दुई वर्षको अवधिमा राष्ट्रियसभाको बैठक एक दिन पनि नरोकिएको जनाउँदै उहाँले सत्ता पक्ष र प्रतिपक्षी नभई सहमति तथा सहकार्यको संस्कारको विकास गरिएको बताउनुभयो । राष्ट्र निर्माणको महत्वपूर्ण अभियानमा अघि बढेको उल्लेख गर्दै राष्ट्रिय दायित्वसँग जोडिएको जनसरोकारका विषय पूरा गर्ने अभिभारा आफूहरुको काँधमा आएको उहाँले बताउनुभयो ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद अनिता देवकोटाले सहकार्य र सहमतिका आधारमा अघि बढ्नुपर्नेमा जोड दिँदै आर्थिक तथा सामाजिक रुपान्तरणका लागि एक ठाउँमा उभिनुपर्ने बताउनुभयो । “के सत्ता पक्ष के प्रतिपक्ष भनेर होइन, सहकार्यका आधारमा अघि बढौँ”, उहाँले भन्नुभयो, “यहाँहरुको उपस्थितिले राष्ट्रियसभालाई परिपक्व बनाएको छ ।” उहाँले नवनिर्वाचित सांसदको सक्रियताले राष्ट्रियसभाको गरिमालाई स्थापित गर्न सकोस् भनी कामना गर्नुभयो । उहाँले नवनिर्वाचित सदस्यको कार्याकाल सफलताको कामना गर्नुभयो ।

समाजवादी पार्टी नेपालका सांसद प्रमिला कुमारीले राष्ट्र निर्माणमा नवनिर्वाचित सदस्यको महत्वपूर्ण भूमिका भएको भन्दै मुलुकलाई समृद्ध बनाउन दृढतापूर्वक लाग्ने विश्वास व्यक्त गर्नुभयो । “यहाँहरुको स्वागत र सफल कार्यकालको कामना गर्दछु”, उहाँले भन्नुभयो । सातै प्रदेशको समानान्तर विकास नभएसम्म समृद्ध मुलुक निर्माण हुन नसक्ने भन्दै उहाँले प्रदेश र स्थानीय तहको अधिकार सुनिश्चित गरेर मात्रै समृद्धि हासिल गर्न सकिने बताउनुभयो ।

सभाको शुभारम्भमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनियुक्त सदस्यलाई स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.