बिचार

कोरोनाप्रतिको सचेतनामा विद्यालयको भूमिका सबभन्दा महत्वपूर्ण

हरेक दिन कक्षाशिक्षकले कोरोनाबारे सचेत बनाउनुपर्ने

विश्वमा उत्पन्न हुने कुनै पनि संकट वा महामारीबाट सबभन्दा पहिलो सुरक्षित राख्नुपर्ने बालबालिका, वृद्धवृद्धा र महिलालाई हो । अहिले कोरोना भाइरसले विश्व तर्साइरहेका बेला यसको संक्रमणबाट बालबालिकालाई बताउन विद्यालय तथा शिक्षण संस्थाका शिक्षकहरुको महत्वपूर्ण भूमिका हुन्छ ।

विशेष गरी नेपाल जस्तो यथार्थभन्दा हल्लाको पछि बढी कुद्ने मुलुकमा कोरोनाबारे सचेत पार्न र सही सूचना दिन विद्यालयहरु सबभन्दा भरपर्दो निकाय हो । नेपालमा विद्यालय बन्द नभैसकेको अवस्था छ र अबको दुई सातासम्म विद्यालय चल्ने हुँदा हरेक विद्यालयले एउटा कक्षा कोरोना सचेतनाको राख्नुपर्ने आवश्यकता टडकारो देखिएको छ ।

हरेक कक्षाका कक्षा शिक्षकले कोरोनाबारे यथार्थ कुरा बताउने, यसको संक्रमण दर, मृत्यु दर अनि बच्न अपनाउनुपर्ने उपायहरुका बारेमा बालबालिकालाई सचेत पार्ने हो भने यसमार्फत घर परिवार हुँदै समाज र देश नै सचेत हुनेछ ।

यहाँ यस्तो भयो र उस्तो भयो भनेर आलोचना गर्ने, सरकारले केही गरेन भनेर सामाजिक सञ्जालमा आलोचना गर्नेहरुको भीड त जत्ति पनि देखिन्छ तर एउटा सचेत नागरिक भएका नाताले आफ्नो जिम्मवारी निर्वाहतिर पटक्कै ध्यान दिने गरिएको छैन । नेपालमा कोरोनाको त्रास आवश्यकताभन्दा बढी हुनुको एउटा कारण यो पनि हो ।

विश्व नै संकटमा परेका बेला त्यसबाट हामी अछुतो रहन सक्दैनौं । विश्वका शक्तिशाली र सम्पन्न मुलुकहरुले समेत कोरोना रोकथाम गर्न असफल भैरहेका बेला नेपालमा संक्रमण फैलियो भने हाम्रो अवस्था कस्तो होला ? यसै तथ्यलाई मनन् गरी हरेक विद्यालयले विश्व स्वास्थ्य संगठनले दिएको सूचनाका आधारमा कोरोना सम्बन्धी चेतनामूलक अभियान कक्षाबाट सुरु गर्नु ढिला भैसकेको छ ।

यसै तथ्यलाई मध्यनजर गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण रोकथाम सम्बन्धमा विद्यालय÷शिक्षण संस्था, विद्यार्थी, शिक्षक तथा अभिभावकमा सतर्कता अपनाउन अपिल गरेको छ ।

मन्त्रालयले विद्यालय, शिक्षण संस्थाले सङ्क्रमण फैलने तरिका र त्यसबाट बच्ने उपायका सम्बन्धमा विद्यार्थीलाई हरेक दिन सङ्क्रमणबाट बच्ने उपायबारे सचेत गराउने, कक्षा शिक्षकले विद्यार्थीलाई हरेक दिन कोरोना भाइरसबारे सूचना तथा जानकारी उपलब्ध गराउने, सङ्क्रमणबाट बच्ने उपाय सूचनापाटीमा टाँस गर्ने, छलफल गराउने, यसबारे पढ्न र छलफल गर्न विद्यार्थीलाई प्रोत्साहित गर्नेलगायत आग्रह गरेको हो ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले जारी गर्नुभएको सो अपिलमा कोरोना भाइरससम्बन्धी आधिकारिक सूचना दिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलगायतका वेबसाइटको ठेगानाबारे जानकारी दिएर सबै विद्यार्थीलाई सूचित हुने अवस्था सिर्जना गर्न, स्थानीय स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीसँग समन्वय गरी सचेतना कार्यक्रम सञ्चालन गर्न पनि आग्रह गरेको छ ।

यसैगरी भीडभाड भएको ठाउँमा सकभर नजाने, राम्ररी नपकाइएको माछा, मासु, सागसब्जी एवं खानेकुरा नखाने, साबुन पानीले पटकपटक राम्ररी हात धुने, खानाखाजा खानुपूर्व अनिवार्य रुपमा साबुन पानीले हात धुने, हात नमिलाउने, अङ्कमाल नगर्ने, टाढैबाट नमस्कार गर्ने गर्न पनि सो अपिलमा भनिएको छ ।

कुनै विद्यार्थीलाई ज्वरो रुघा(खोकी देखिएमा विद्यालय÷शिक्षण संस्थामा तत्काल अन्य विद्यार्थीहाट अलग्गै राख्न, अभिभावकलाई तत्काल सम्पर्क गरी सुरक्षित तरीकाले जिम्मा लगाउन, नजिकको स्वास्थ चौकी, अस्पताल वा चिकित्सकसँग सम्पर्क गरी उनीहरुको सल्लाहअनुसार उपचार गर्ने गराउन, ज्वरो र रुघा(खोकी लागेका विद्यार्थी र तीनका परिवारका अन्य व्यक्तिलाई घरमा सुरक्षित तवरले अलग्गै ठाँउमा राख्न पनि भनिएको छ ।

विश्वव्यापी सो सङ्क्रमणको स्थिति सहज नभएसम्म अभिभावक भेला, वार्षिकोत्सव, सांस्कृतिक कार्यक्रमजस्ता समारोह आयोजना नगर्न, सामूहिक पिकनिक वा शैक्षिक भ्रमणजस्ता कार्यक्रम स्थगन गर्न, शिक्षण संस्थाबीच सूचनाको नेटवर्क गर्न, आधिकारिक सूचना एकै ठाउँबाट प्रवाह गर्ने व्यवस्था गर्न विद्यालय÷शिक्षण संस्थामा ‘फोकल पोइन्ट’ तोक्न पनि आग्रह गरिएको छ ।

अनावश्यक हल्लाले विद्यार्थीलाई त्रसित बनाउन सक्नेतर्फ सचेत तुल्याउन, सङ्क्रमण भएमा स्वास्थ्य सेवा लिने तरिका एवं एकान्त÷अलग्गै राख्ने र फैलन नदिने विधिबारे जानकारी दिन र सरकारी आधिकारिक निकायबाट आउने सूचना सबैमा प्रवाह गर्ने व्यवस्था प्रभावकारी पार्न मन्त्रालयले आग्रह गरेको छ ।

सामाजिक उत्तरदायित्व निर्वाह गर्नु हामी सबैको परम कर्तव्य हो भन्ने ठानेर कोरोनाकोा त्रास फैलाउने हैन कि यसबाट बच्ने उपायहरुप्रति सजग गराउनु सबैको कर्तव्य हो । सामाजिक सञ्जालहरुमा कोरिएका दृष्टिकोणलाई आधार बनाएर नभै यथार्थको धरातलमा टेकेर अभियान चलाउनु आवश्यक छ । किनभने कोरोना शक्तिशाली भाइरस हैन तर यसको औषधि वा खोप पनि छैन । त्यसैले यसबाट बच्न सामान्य उपायहरु अवलम्बन गर्दा विश्व कल्याणमा हाम्रो योगदान रहनेछ ।

सम्बन्धित खबर

Back to top button