पर्यटनमन्त्री भट्टराईसँग चिनियाँ राजदूतको भेटवार्ता
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भेट गरी कोरोना भाइरसको रोकथामका लागि पूर्वतयारीबारे जिज्ञासा राख्नुभएको छ ।
पर्यटन मन्त्रालयमा भएको उक्त भेटमा कोरोना भाइरसको विश्वव्यापी सङ्क्रमण र यसबाट निम्तन सक्ने समस्या तथा रोग नियन्त्रण, रोकथाम उपायको पूर्वतयारीको अवस्थाबारे कुराकानी भएको पर्यटन मन्त्रीको निजी सचिवालयले जनाएको छ ।
कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि चीनको अनुभवबारेमा जानकारी गराउँदै राजदूत यान्छीले कोरोना सङ्क्रमणबाट पीडित ८० हजार ९०० बिरामीमध्ये ५९ हजार चिनियाँ नागरिक उपचारपछि घर फर्किएको जानकारी गराउनुभयो ।
राजदूत यान्छीले नेपालमा कोरोना भाइरसको सङ्क्रमण नफैलिने विश्वास व्यक्त गर्दै यदि नेपालमा समस्या भए नियन्त्रणका लागि चीनको पूरा सहयोग रहने बताउनुभयो । उहाँले कोरोनाको सम्भावित जोखिमबाट बच्न नेपालले अपनाएको पूर्वसतर्कता र तयारीको प्रशंसासमेत गर्नुभयो । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण र रोकथामका लागि अपनाएका सबै खालका प्रविधि, औषधि र सूचना नेपाललाई दिन चीन सरकार तयार रहेको उहाँले बताउनुभयो ।
भेटमा पर्यटनमन्त्री भट्टराईले कोरोना भाइरसको समस्याबाट चीन चाँडै मुक्त हुन लागेकोमा खुशी व्यक्त गर्दै कोरोनाको जोखिम रोकथामका लागि नेपालले सबै तयारी गरिरहेको जानकारी दिनुभयो । अन्तरराष्ट्रिय विमानस्थलमा चेकचाँज, अस्पतालमा श्ययाको व्यवस्थापन, आवश्यक क्वारेन्टाइनको व्यवस्थालगायतका विषयमा सरकारले गरिरहेको तयारीको विषयमा समेत मन्त्री भट्टराईले जानकारी गराउनुभयो ।
भेटमा पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलगायतको उपस्थिति थियो ।
प्रतिक्रिया राख्नुहोस्