प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार : मिर्गौला प्रत्यारोपण कानुन बमोजिम
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सुधारोन्मुख देखिएको छ । उहाँको मिर्गौलाको प्रत्यारोपण गरिएको बुधबार सातौँ दिन त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले प्रधानमन्त्रीको स्वास्थ्य सुधारोन्मुख र सन्तोषजनक रहेको बताउँदै उहाँलाई केही दिनपछि निवास फर्काइने जानकारी दिनुभयो ।
अस्पतालमा मिर्गौला प्रत्यारोपणमा संलग्न प्रमुख चिकित्सक टोलीसहितको पत्रकार सम्मेलनमा प्रा डा खड्गाले चिकित्सीय हिसाबले उहाँ आजै घर फर्कन सक्ने भए पनि परिवारको आग्रहअनुसार केही दिन अस्पतालमै राखिने बताउनुभयो ।
अङ्गदाता समीक्षा सङ्ग्रौलाको स्वास्थस्थिति राम्रो भएको र उहाँलाई पनि प्रधानमन्त्रीसँगै घर फिर्ता गराइने जनाइएको छ ।
त्रिवि चिकित्साशास्त्र सङ्कायका डीन प्रा डा जगदीश अग्रवालले मुलुकका प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण मुलुककै अस्पतालमा हुनु गौरवको विषय भएको बताउँदै यसबाट चिकित्सकहरुको आत्मविश्वास बढेको छ भन्नुभयो ।
उहाँले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणपछि अस्पतालमा अङ्ग प्रत्यारोपण गर्नेको सङ्ख्या बढ्न सक्ने हुनाले सरकारले यसको पूर्वाधार विकासमा ध्यान दिनुपर्ने बताउनुभयो ।
यसै गरी प्रधानमन्त्री केपी शर्मा ओली पुरै सक्रिय हुने ६ महिनासम्म लाग्ने उहाँका निजी चिकित्सक डा। दिव्यासिंह शाहले बताउनुभएको छ । उहाँले प्रधानमन्त्रीलाई भीडभाडमा जान सल्लाह दिँदैनौं, पुरै सक्रिय भएर अरु सरह हिँडडुल गर्न ६ महिना लाग्न सक्छ, तर नियमित काम गर्न समस्या नहुने बताउनु भयो ।
उता त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण कानुन बमोजिमको नाता प्रमाणित गर्ने कागजातकै आधारमा गरिएको स्पष्टिकरण दिएको छ । अस्पतालको तर्फबाट मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेफ्रोलोजी विभागकी प्रमुख डा।दिव्यासिंह शाहले आफूहरु २०० प्रतिशत विश्वस्त भएर मात्र मिर्गौला प्रत्यारोपण गरिएको बताएकी हुन् ।
प्रधानमन्त्री ओली र उनलाई मिर्गौला दान गर्ने भाञ्जी नाता पर्ने समीक्षा संग्रौला एकाघरकै सदस्य नभएको भन्दै प्रश्न उठेको थियो । अस्पतालले सबै कागजपत्र र नाता प्रमाणित हुने आधार प्रष्ट भएपछि मात्र समीक्षाको मिर्गौला प्रधानमन्त्रीलाई प्रत्यारोपण गरिएको जनाएको छ ।
प्रधानमन्त्रीको निजी चिकित्सक डा. शाहले मामा भाञ्जीको नाता बायोमेट्रिकबाट समेत प्रमाणका रुपमा लिइएको बताउँदै ‘उहाँहरुले ल्याउनुभएका कागजपत्र प्रमाणित भएर मात्र हामीले गरेका हौं । प्रधानमन्त्रीले समेत बायोमेट्रिक दिनुभएको छ । हामी अरु बिरामीको जस्तै उहाँको पनि बायोमेट्रिक भिडियोसमेत राखेका छौं । हामी २०० प्रतिशत विश्वस्त नभई गर्दैनौं ।’
प्रतिक्रिया राख्नुहोस्