अर्थ

कोरोनाको असर कलङ्की–धोबीखोला सडक विस्तारमा पनि

चीन सरकारको आर्थिक सहयोगमा विस्तार गर्ने तयारी भइरहेको चक्रपथको दोस्रो खण्ड (कलङ्की–धोबीखोला) को तत्काल काम शुरु नहुने भएको छ । नोबेल कोरोना भाइरस ‘कोभिड–१९’ का कारण तत्काल चिनियाँ टोली आउने सम्भव नभएकाले निर्माण तत्काल शुरु नहुने देखिएको हो ।

चिनियाँ टोली यही महिना आउने तयारी भए पनि रोगका कारण तत्काल आउने नदेखिएको सडक विभागले जनाएको छ । चक्रपथको कोटेश्वर–कलङ्की खण्ड निर्माण गरेको चीन सरकारले नै कलङ्की–धोबीखोला निर्माणका लागि विस्तृत अध्ययन गरेको थियो । पहिलो खण्डमा निर्माण शुरु हुँदा पनि सडकमा रहेका संरचना नहटेका कारण यो खण्डमा पहिले संरचना हटाउने गरी सहमति भएको थियो ।

झण्डै सबैतिर निर्माणस्थल खाली भइसकेको काठमाडौँ चक्रपथ सुधार योजनाका प्रमुख अमृतमणि रिमालले जानकारी दिनुभयो । महाराजगञ्ज क्षेत्रमा केही घरहरु हटाउन बाँकी भए पनि अरु स्थानमा सडकको अधिकार क्षेत्रमा रहेका बिजुललीका खम्बा, टेलिफोनको खम्बा, खानेपानीको पाइप, ढल, रुखलगायत हटाइएको छ । उहाँले भन्नुभयो, “हामीले आवश्यक तयारी गरिसकेका छौँ चिनियाँ टोली आउन नसक्ने हुँदा काम शुरु नहुने देखिएको छ ।”

निर्माणस्थल खाली गरेर आगामी महिनासम्म निर्माणका लागि हस्तान्तरण गर्ने सरकारको योजना थियो । सो सडकमा दुई वटा ‘अण्डर पास’, प्रत्येक एकएक किलोमिटरमा आकाशे पुल र मुख्य लेनमा बीचमा डिभाइर हुने गरी सडक विभागले प्रस्ताव गरेको छ ।

कोटेश्वर–कलङ्की सडकमा रहेको कमीकमजोरी हुन नदिने गरी डिजाइन गरिएको सडक विभागले जनाएको छ । आठ लेनको सडकमा कोटेश्वर–कलङ्की सडकमा जस्तै मुख्य चार र सहायक चार गरेर जम्मा आठ लेन नै रहने बताइएको छ । पहिलो चरणमा मुख्य सडकमा दायाँबायाँ सडकलाई सडक चिह्नले मात्रै छुट्याइएकामा यस सडकमा डिभाइडर राखिने डिजाइनमा उल्लेख छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.