एन आर एन न्युज

११३ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विशेष कार्यक्रम

गैरआवासीय नेपाली संघ (एनआरएनए)को आयोजनामा ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा १२ मार्च २०२३ मा विशेष कार्यक्रम सम्पन्न गरिएको छ ।

प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगकी माननीय सदस्य लिली थापा, वरिष्ठ पत्रकार बबिता बस्नेत, पौरखी नेपालकी संस्थापक अध्यक्ष मञ्जु गुरुङ र शक्ति समूह नेपालकी अध्यक्ष चरिमाया तामाङको उपस्थिति रहेको थियो ।

कार्यक्रमकी प्रमुख अतिथि उपसभामुख राना मगरले शहरी क्षेत्रका केही महिलाहरु मुलधारमा रहेका र उनीहरुको जीवनमा केही परिवर्तन भए पनि ग्रामीण र विकट स्थानमा महिलाको अवस्था दयनीय रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “महिलाहरु प्रविधिको पहुँचमा त परको कुरा आधारभूत शिक्षा स्वास्थ्यसम्म पनि पाएका छैनन् । शहरका महिला शिक्षित भएपनि अधिकारका कुरा गरेपनि गाउँगाउँमा महिलाको अवस्थामा कुनै परिवर्तन छैन ।”

राना मगरले नीति निर्माणको तहमा छलफल गरेर जातिय, भूगोल र समग्र रुपमा महिलाको विकास गर्नेमा आफूले पैरवी गरिरहेको उहाँको भनाई थियो । महिलाहरु संख्यामा केन्द्रीत नभई गुणस्तर र क्षमतामा केन्द्रीत हुन उहाँले आग्रह गर्नुभयो ।

राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य माननीय, लिलि थापाले महिलाको लागि बनेका कानून मध्ये ५० प्रतिशतभन्दा बढीको अझै कार्यान्वयन हुन नसकेको बताउनुभयो । पछिल्लो एक दशकको अवधिमा महिला हिंसा उल्लेख्य रुपमा बढीरहेको भन्दै त्यसलाई न्यूनीकरणका लागि सरकारी पहल मात्रै पर्याप्त नभएकोले घर, समाज र व्यक्ति सचेत र जिम्मेवार हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

वरिष्ठ पत्रकार बबिता बस्नेतले महिलाका लागि सञ्चार क्षेत्र उदार रहेपनि कतिपय सञ्चारकर्मी महिला नै हिंसामा पर्ने गरेको बताउनुभयो । पछिल्लो समय डिजिटल माध्यमबाट हिंसा बढीरहेको र महिलाहरु पनि त्यसको शिकार भइरहेको भन्दै महिलालाई सम्पूर्ण रुपमा शिक्षित डिजिटल संसारसँग परिचित गराउन आवश्यक रहेको उहाँको भनाई थियो ।

पौरखी नेपालकी संस्थापक अध्यक्ष मञ्जु गुरुङले महिलालाई यौनिकतासँग जोडेर कुरा गर्ने प्रवृत्ति अहिले पनि हाबी रहेको भन्दै त्यसलाई अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । वैदेशिक रोजगारीबाट फर्किएका महिलाको पुर्नएकीकरणको लागि जत्ति नै कुरा भए पनि त्यसको परिभाषा नै प्रष्ट नभएकोले त्यसलाई पुनः परिभाषित गर्नु जरुरी रहेको उहाँको भनाई थियो ।

शक्ति समूह नेपालकी अध्यक्ष चरिमाया तामाङले महिलालाई हिंसा वा बेचविखनमा पर्नुबाट जोगाउन सचेतनामुलक कार्यक्रमको आवश्यकता औँल्याउनुभयो ।

कार्यक्रममा एनआरएनएकी कार्यकारी अध्यक्ष रबिना थापाले मुलुकको समृद्धि र दिगो विकासका लागि महिलाहरूको आर्थिक, सामाजिक तथा संरचनात्मक रुपान्तरण आवश्यक रहेको बताउनुभयो । स्वदेशमा मात्रै नभई विदेशमा रहेका महिलाले भोगेका समस्या सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा संघका अध्यक्ष बद्री केसीले जबसम्म महिलालाई शैक्षिक र आर्थिक रुपमा सबल बनाउन सकिँदैन तबसम्म महिला र पुरुषबीच समानता वा समता कायम गर्न नसकिने बताउनुभयो ।

एनआरएनएले महिला समानता र समताका लागि पहल गर्दै आएको महिला हक अधिकारका लागि संघ सदैव उदार रहेको उहाँको भनाई थियो ।

संघकी महिला उपाध्यक्ष विष्णुमाया परियारले अन्तर्राष्ट्रिय महिला दिवस नै महिलाहरुको लागि उत्सव भएकोले सबै मिलेर उत्सव मनाउन पाउँदा खुशी लागेको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.