इटालीमा एकैदिन दुई सय ५० जनाको मृत्यु- भारतमा अर्का एकजनाको पनि मृत्यु
कोरोना भाइरसको संक्रमणले ग्रस्त इटालीमा संक्रमणबाट एकै दिन २ सय ५० जनाको मृत्यु भएको छ । कोरोनाबाट एकै दिनमा मृत्यु भएको यो संख्या हालसम्मकै धेरै हो ।
हालसम्म इटलीमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार २ सय ६६ पुगेको छ । संक्रमितको संख्या १७ हजार ६ सय ६० भन्दा बढी छ ।
डब्लूएचओका अनुसार हालसम्म १ सय २३ वटा देशमा कोरोना भाइरस संक्रमित फेला परेका छन् । विश्वभर १ लाख ३२ हजार ५ सय ३६ जना संक्रमित छन् भने ४ हजार ९ सय ४७ जनाको मृत्यु भएको छ ।
उता नेपालको दक्षिणी छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार पछिल्लो पटक दिल्लीको पश्चिम क्षेत्रकी ६९ वर्षीया महिलाको मृत्यु भएको हो । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ ।
ती मृतक महिलाको छोरो पनि कोरोनो भाइरसबाट संक्रमित रहेको समाचारमा उल्लेख छ । ती महिला पहिलेदेखि नै डायबिटिज र हाइपरटेन्सनको बिरामी थिइन् ।
कोरोना भाइरस संक्रमण सुरु भएको चीनपछि इटलीमा डरलाग्दो स्थिति छ । चीनले आफ्नो मुलुकमा कोरोना संक्रमणको महामारी हटेको घोषणा गरे पनि विश्वका अन्य मुलुकहरुमा भने यसले महामारीको रुप लिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्