राजनीति

कोरोनाबिरुद्ध सार्क आपत्कालीन कोष- भारतले एक करोड डलर दिने मोदीको घोषणा

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ विरुद्ध लड्न दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सदस्य मुलुकबीच आपत्कालीन कोष खडा गर्न आह्वान गर्दै शुरुआतमा भारतका तर्फबाट एक करोड अमेरिकी डलर दिने घोषणा गर्नुभएको छ ।

कोभिड–१ को सङ्क्रमण फैलिन नदिन राष्ट्राध्याक्ष÷सरकार प्रमुखबीचको आइतबार साँझ गरिएको भिडियो कन्फरेन्समा भारतीय प्रधानमन्त्री मोदीले सो कोष सञ्चालनका लागि आफ्नो मुलुकका विदेश मन्त्रालयका सचिवले थप समन्वय गर्ने जानकारी दिँदै सार्क प्रकोप व्यवस्थापन केन्द्रलाई सक्रिय पार्न पनि प्रस्ताव गर्नुभयो ।

उहाँले कोभिडविरुद्ध लड्न विज्ञ र चिकित्सकलाई तयारी अवस्थामा राख्न आग्रह गर्दै कोभिडको परीक्षणमा तदारुकता दिन र यसको रोकथाममा लाग्ने टोलीलाई छिटो तालिम दिई क्षमतावृद्धि गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

प्रधानमन्त्री मोदीले कोरोना सार्क देशका लागि साझा चुनौती रहेको बताउँदै यसविरुद्ध सबैले डटेर सामूहिकरुपमा लड्नुपर्ने यसको प्रभावबाट आर्थिक क्षेत्रमा पर्न सक्ने प्रभावबारे अध्ययन गर्न र आन्तरिक व्यापारलाई बढावालाई दिन पनि सुझाव दिनुभयो ।

कन्फ्रेन्सका क्रममा मोदीले कोरोनाविरुद्ध तयार रहन आग्रह गर्दै कसैले नआत्तिन नहुने बताउँदै कोरोनाका कारण विदेशमा फसेका १४ सय भन्दा धेरै भारतीयलाई उद्धार गरेर देशमा ल्याइएको जानकारी दिनुभयो ।

चीनको वुहानबाट गत डिसेम्बरमा फैलिएको कोभिड-१९ बाट भारतमा एक साताकोबीचमा दुईजनाको ज्यान गइसकेको छ । भारत र पाकिस्तानसहित सार्कका ८ देशमा अहिलेसम्म कोरोनाका १७८ मामिला पुष्टि भएका छन् ।

दक्षिण एसियामा हालसम्म १ सय ७९ जना संक्रमित भेटिएका छन् । जसमध्ये भारतमा सबैभन्दा धेरै १ सय ९, पाकिस्तानमा ३४, अफगानिस्तानमा ११, श्रीलंकामा १०, मालदीभ्समा १०, बंगलादेशमा ३, भुटान १ र नेपाल १ जम्मा संक्रमित छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.