पारस्परिक लाभमा आधारित साझेदारी सुदृढ गर्न नेपाल प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेन्द्र शाहले मित्रराष्ट्रहरुसंग विश्वासका आधारमा पारस्परिक लाभमा आधारित साझेदारी सुदृढ गर्न नेपाल सरकार प्रतिबद्ध र उत्सुक रहेको बताउनुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूसंगको सामूहिक भेटमा प्रधानमन्त्री शाहले सरकार सबै देशहरूसँगको सम्बन्धलाई उच्च महत्त्व दिनुका साथै विश्वासका आधारमा पारस्परिक लाभमा आधारित साझेदारी सुदृढ गर्न प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको हो ।
प्रधानमन्त्री शाहले भन्नुभयो, “नेपालले सन्तुलित र व्यावहारिक वैदेशिक नीतिको अनुसरण गर्दै आएको छ । हाम्रो बाह्य सम्बन्ध साझा समृद्धिको लक्ष्यद्वारा निर्देशित छ । नेपालको विकास र समृद्धिका लागि निरन्तर सद्भाव र सहयोग प्रदान गर्नुभएकामा हामी सबै साझेदार तथा मित्रहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ ।”
विश्वमा जारी द्वन्द्वहरूले सर्वसाधारण नागरिकलाई सबैभन्दा बढी असर पार्ने भएकाले शान्ति साझा प्राथमिकता हुनुपर्नेमा उहाँको जोड थियो ।
प्रधानमन्त्री शाहले भन्नुभयो, “चलिरहेका द्वन्द्वहरूले सर्वसाधारण नागरिकलाई सबैभन्दा बढी असर पार्ने भएकाले शान्ति हाम्रो साझा प्राथमिकता रहनुपर्छ । यसमा हामी सबै सहमत छौँ भन्ने विश्वास लिएको छु र यस दिशामा सामूहिक प्रयासको अपेक्षा गर्दछु । यहाँ उपस्थित सबै मित्रहरूलाई नेपालको निरन्तर मित्रता र सहयोगका लागि धन्यवाद दिन चाहन्छु ।”
प्रधानमन्त्री शाहले नेपाल सरकार लगानीका लागि अनुकूल वातावरण निर्माण गर्न, उद्यमशीलतालाई प्रोत्साहन गर्न तथा दिगो विकासलाई समर्थन गर्न प्रतिबद्ध रहेको पनि बताउनुभयो । उहाँले राष्ट्रिय हितअनुकूल हुने गरी नेपाललाई क्षेत्रीय तथा वैश्विक आर्थिक संरचनामा अझ मजबुत रूपमा समेट्ने लक्ष्य राखिएको पनि उल्लेख गर्नुभयो ।
“नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन । हामी राजनीतिक स्थायित्व कायम राख्न तथा नीतिगत दिशालाई स्थिर र पूर्वानुमानयोग्य बनाइराख्न दृढ प्रतिबद्ध छौँ,” प्रधानमन्त्री शाहले भन्नुभयो ।
उहाँले विकास, व्यापार, लगानी, जलवायु अनुकुलनका कार्य तथा जनस्तरको सम्बन्धजस्ता विभिन्न क्षेत्रमा सहकार्य अघि बढाउन सरकार इच्छुक रहेको जानकारी दिनुभयो । यसै गरी विदेशमा रहेका नेपाली नागरिकको सुरक्षा र हित सरकारको प्राथमिकतामा रहेको विषयमा उहाँले जोड दिनुभयो ।
सो भेटमा भारत, पाकिस्तान, कोरिया गणराज्य, बेलायत, कतार, स्विट्जरल्यान्ड, फ्रान्स, इजरायल, जापान, बङ्गलादेश, जर्मनी, इजिप्ट, श्रीलङ्का, साउदी अरेबिया, चीन, संयुक्त राज्य अमेरिका र संयुक्त राष्ट्र सङ्घका राजदूतरनियोग प्रमुखहरूको उपस्थिति रहेको थिए ।
राजदूत एवं नियोग प्रमुखहरूले प्रधानमन्त्री शाहलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए । उनीहरूले नेपाली जनताको हितमा परिणाम दिने गरी नेपाल सरकारका कार्यहरूमा समर्थन र सहयोगको प्रतिबद्धता समेत व्यक्त रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाह, मुख्यसचिव सुमनराज अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई र अन्य सरकारी अधिकारीहरूको पनि उपस्थितिमा भएको ब्रिफिङमा प्रधानमन्त्रीले सबै राजदूतहरूको भनाई सुन्नुभएको थिो ।
प्रधानमन्त्री शाहले यसपटक विगतका प्रधानमन्त्री भन्दा केही भिन्न अभ्यास गर्नुभएको छ । यसअघि प्रधानमन्त्रीले व्यक्तिगत रुपमा पनि राजदूतहरूलाई कूटनीतिक ब्रिफिङ गर्नु अघि नै भेट्ने गरेका थिए । तर बालेनले कसैलाई पनि अहिलेसम्म व्यक्तिगत रुपमा भेटनुभएको थिएन ।
यसअघि राजदूतहरू गेटक्र्यास नै गरेर प्रधानमन्त्री कार्यालय र निवासमा पुग्ने गरेका थिए। यसपटक कूटनीतिक आचार संहित कडाईकासाथ पालना गर्ने सरकारको योजना छ । त्यसैले मन्त्रीहरूलाई पनि प्रोटोकल नाघेर भेटघाट नगर्ने भन्दै बुधबारै परराष्ट्र मन्त्रालयले कूटनीतिक प्रशिक्षण समेत दिएको थियो ।





प्रतिक्रिया राख्नुहोस्