नागरिक जीवन संकटमा परेका बेला दल विभाजनको अध्यादेश ल्याउनु दुःखद : देउवा

सरकारले सोमबार साँझ जारी गरेको दल सम्बन्धी अध्यादेशप्रति प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आपत्ति जनाउनुभएको छ । सभापति देउवाले एक विज्ञप्ति जारी गरी जारी भएको राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेशमा गम्भीर असहमति जनाउनुभएको छ ।
पूर्व प्रधानमन्त्री समेत रहनुभएका सभापति देउवाले नागरिक जीवन संकटमा रहेको बेला सरकारले अध्यादेश ल्याएको र र राष्ट्रपतिले हतारमा प्रमाणीकरण गरेको बताउँदै विपक्षी दलका नेता विना नै संवैधानिक परिषद्को बैठक बस्न सक्ने गरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पनि ल्याउने निर्णय गर्नु आपत्ति जनक रहेको बताउनुभएको हो ।
सभापति देउवाले विश्व एक भएर कोरोनाको संक्रमणसँग लडिरहेको बेला यसरी अध्यादेश ल्याउनु सरकार नागरिकको जीवन रक्षाका लागि गम्भीर नभएको प्रमाण भएको बताउनुभएको छ ।
सभापति देउवाले भन्नुभएको छ ‘यतिबेलाको प्रधान दायित्व भनेको कोरोना र भोकमरीबाट नेपाली जनतालाई जोगाउनु हो’ उनले विज्ञप्तिमा भनेका छन्, ‘यो घडीमा सत्ताको उन्माद या खेल प्रस्तुत गर्नु भनेको नेपाली इतिहासकै सबैभन्दा दुःखद घटना हो र यो ‘बेमौसमी बाँसुरी’ हो । नेपाली कांग्रेस अलोकतान्त्रिक एवं संविधानको मर्म विपरीतका विधेयक तत्काल फिर्ता लिन माग गर्दछ ।’
प्रतिक्रिया राख्नुहोस्