जन सरोकार

आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा दर्शनार्थीको घुइँचो

प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ ।

आमाको मुख हेर्ने दिन

शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ ।

छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।

सनातन वैदिक शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ । वैदिक सनातन धर्म ग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला एवं प्यार हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाइएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ ।

सन्तानलाई नौ महीनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरुभन्दा बढी छ । बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पनि उहाँले सुनाउनुभयो । यस्तो महत्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुसी बनाइन्छ ।

दिवङ्गत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ । वैशाखकृष्ण औँसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादान सहित श्राद्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् भट्टराईले बताउनुभयो ।

यस अवसरमा चन्द्रागिरी नगरपालिकास्थित मातातीर्थमा आज मेला लाग्ने गर्छ । मातातीर्थमा मेलाको सम्पूर्ण तयारी पूरा भएको नगर प्रमुख घनश्याम गिरीले जानकारी दिनुभयो । यस वर्ष गुरु अस्त भएकाले र विश्वका केही देशमा सूर्यग्रहण देखिने भएकाले आमाको मुख हेर्नु नहुने भनी गरिएको प्रचार सही नभएको समितिले जनाएको छ ।

यसैगरी प्रत्येक वर्ष वैशाखकृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने अर्थात् मातृ सम्मान दिवसका लागि वृहस्पति अस्तले कुनै फरक नपर्ने पनि समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिनुभयो ।

मातातीर्थमा भक्तजनको घुइँचो
काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा स्नान गर्ने तथा दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ ।

प्रत्येक वर्ष बैशाख कृष्णपक्ष औँशीका दिन जन्मदाता आमालाई सम्मान गरी मनाइने मातातीर्थ औँशीमा चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा स्नान गर्ने तथा आमाको प्रतिमाको दर्शन गर्ने भक्तजनको आज बिहानैदेखि घुइँचो लागेको छ । भक्तजन अघिल्लो दिन साँझदेखि नै आमाको सम्झनामा बत्ती बालेर जाग्राम बस्नुका साथै आज बिहान मातातीर्थ कुण्डमा स्नान गर्ने गर्दछन् ।

मातातीर्थ संरक्षण तथा विकास संस्थाका अध्यक्ष शान्त उदासले भक्तजनलाई व्यवस्थितरुपमा कुण्डमा स्नान गर्ने व्यवस्था मिलाइएको बताउनुभयो । उहाँले यसपटक पाँच लाखभन्दा बढी भक्तजनले मेला भर्ने अनुमान गरिएको बताउनुभयो । मन्दिरका पुजारी फणीन्द्र अधिकारीले मातातीर्थ कुण्डमा दर्शन गरेमा आमा दिवङ्गत हुने छोराछोरीले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने विश्वास रहेकाले भक्तजन मातातीर्थ आउने गरेको बताउनुभयो ।

आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ ।

छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाले भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् । मातातीर्थ मेलाका अवसरमा आज चन्द्रागिरि नगरपालिकाले आफ्नो नगरपालिकाभित्र सार्वजनिक बिदासमेत दिएको छ ।

 

 

 

 

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.