विश्व समाचार

शान्ति पदयात्रा र सेलिब्रेटी कुकुर ‘अलोका’ले तानेको ध्यान

आजको युगमा मानिस मात्र होइन जनावरहरू पनि सामाजिक सञ्जालका कारण सेलिब्रेटी बन्ने गरेका छन्। यस्तै सेलिब्रेटी बनेको छ ‘आलोका’ नाम गरेको एउटा कुकुर । यो कुकुर आफ्नो प्रजातीय क्षमताका कारण नभएर मानिससंगै शान्तिका लागि अथक परिश्रमले सेलिब्रेटी बनेको छ ।

संयुक्त राज्य अमेरिकामा टेक्सासदेखि वासिङ्टन डिसीसम्म करिब तीन हजार ७०० किलोमिटर लामो १०८ दिनको पदयात्रा पूरा गरेर अन्तर्राष्ट्रिय स्तरमा चर्चित भएको भियतनामी भिक्षु पन्नकाराको नेतृत्वमा १३ सदस्यीय टोलीले बुधबारदेखि एक हप्ता लामो शान्ति पदयात्रा सुरु गरेका छन् ।

पदयात्रामा भिक्षु पन्नकाराले उद्धार गरेको बेवारिसे कुकुर ‘अलोका’को उपस्थितिले विश्वभर थप ध्यान तानेको छ । ‘सबै प्राणीका लागि शान्ति’ भन्ने सन्देशसहित सुरु भएको यो पदयात्रा धार्मिक आस्था र सामाजिक सन्देशको अनौठो संयोजन बनेको छ ।

राजधानी कोलम्बोबाट करिब १६० किलोमिटर उत्तरमा रहेको ऐतिहासिक डम्बुला बौद्ध मन्दिरबाट बिहान आफ्नो यात्रा प्रारम्भ गरेको हो । यो समूह यसअघि थियो । त्यतिबेला उनीहरूले बरफले ढाकिएका सडक र कठोर मौसममा समेत यात्रा गर्दै शान्तिको सन्देश फैलाएका थिए ।

यसपटक उनीहरू ४० डिग्री सेल्सियससम्म तापक्रम पुग्ने श्रीलङ्काको अत्यधिक गर्मीमा नाङ्गो खुट्टा हिँडिरहेका छन् । भीषण गर्मीबीच पनि स्थानीय भक्तजनहरूले उनीहरूको यात्रालाई समर्थन गर्दै सडकमा पानी छर्कने, हरियो केराका पात र फूलहरू राख्ने तथा शीतलता प्रदान गर्ने प्रयास गरेका छन् । केहीले त भिक्षुहरूलाई पानी छर्केर राहत दिन खोजिरहेका दृश्य पनि देखिएका छन् ।

यो पदयात्रा अप्रिल २८ मा राजधानी कोलम्बो पुग्ने अपेक्षा गरिएको छ । त्यहाँ श्रीलङ्काका राष्ट्रपति अनुरा कुमार दिसानायकले उनीहरूलाई स्वागत गर्ने कार्यक्रम रहेको आयोजकहरूले बताएका छन् ।

यस पदयात्राको विशेष आकर्षण बनेको छ अलोका नामको उद्धार गरिएको आवारा कुकुर । यो कुकुरले भिक्षुहरूको साथमा अन्तर्राष्ट्रिय यात्रादेखि नै ध्यान तानेको छ । भारतमा उद्धार गरिएको उक्त कुकुरले अमेरिकी यात्रामा समेत भिक्षुहरूलाई साथ दिएको थियो र त्यसक्रममा ठूलो लोकप्रियता कमाएको थियो ।

अलोका पहिले भारतका भिक्षुहरूलाई पछ्याउँदै गर्दा कारको ठक्करबाट जोगिएको थियो र त्यसपछि उनीहरूकै साथमा यात्रा जारी राखेको थियो । पछि संयुक्त राज्य अमेरिकामा भएको पदयात्रामा पनि उसको उपस्थिति सामाजिक सञ्जालमा व्यापक चर्चाको विषय बनेको थियो । उक्त यात्राले प्राप्त गरेको ध्यान र दानले सम्पूर्ण अभियानलाई आर्थिक रूपमा सहयोग पुगेको बताइएको छ ।

स्थानीय एक भिक्षुका अनुसार टेक्सासदेखि कोलम्बोसम्म अलोकालाई ल्याउने हवाई खर्च सामान्य यात्रुको तुलनामा करिब दस गुणा बढी परेको थियो । यसले अभियानको अन्तर्राष्ट्रिय पहुँच र लोकप्रियता झल्काएको छ ।

श्रीलङ्कामा अहिले अलोकाको सुरक्षाका लागि सेनाका कमान्डोहरू परिचालन गरिएको छ । दुई जना कमान्डोहरू लगातार कुकुरको दुवै छेउमा रहेर पदयात्रा अघि बढाइरहेका छन्, ताकि स्थानीय सडक कुकुरहरूबाट कुनै जोखिम नहोस् । प्रहरीको केनेल विभागसमेत यसको सुरक्षामा खटाइएको छ ।

पदयात्राको दृश्यले स्थानीय सडकमा ठूलो आकर्षण सिर्जना गरेको छ, जहाँ भक्तजनहरूले श्रद्धापूर्वक भिक्षुहरूलाई अभिवादन गर्दै यात्रा अवलोकन गरिरहेका छन् ।

यस अभियानको सामाजिक सञ्जालमा पनि व्यापक प्रभाव देखिएको छ । पिस वाकको फेसबुक पेजमा मात्रै ३० लाखभन्दा बढी फलोअर्स रहेका छन् भने श्रीलङ्का यात्राको प्रत्यक्ष प्रसारण पहिलो पाँच घण्टामै ५१ हजारभन्दा बढी पटक हेरिएको आयोजकहरूले जनाएका छन् ।

धार्मिक आस्था, सामाजिक सन्देश र एउटा उद्धार गरिएको कुकुरको उपस्थिति मिसिएको यो पदयात्रा अहिले श्रीलङ्कामा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमै ध्यानको केन्द्र बनेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.