सन् १९१८ को स्पेनिस फ्लु र २०२० को कोभिड–१९ को महामारी परास्त गर्ने यी हजूरआमा
महामारी वा भयानक प्राकृतिक विपत्तिको सामना पटकपटक सामना गर्नेहरुको संख्या कमी छ यो विश्वमा । अहिले विश्व कारोना भाइरसको महामारी फैलिइरहेका बेला स्पेनमा १०६ वर्षीया एक महिलाले यसलाई जितेर कीर्तिमान बनाएकी छिन् । उनले कोरोना जित्नु अघि सन् १९१८ को स्पेनिल फ्लुलाई जितेकी थिइन् ।
स्पेनको ओलिभ प्रेसको समाचार अनुसार शताब्दीपूर्व फ्लु जितेकी एना डेल भालले कोरोना भाइरसलाई जितिन् । त्यतिबेला विश्वका पचास करोडभन्दा बढी मानिस संक्रमित भएका थिए । स्पेनिस फ्लु सन् १९१८ को जनवरीमा सुरु भई सन् १९२० को डिसेम्बरसम्म विश्वब्यापी महामारीको रुप लिएको थियो ।
स्पेनिस फ्लुको महामारीमा विश्वका करिब पचास करोड व्यक्ति संक्रमित हुन पुगे । जुन त्यत्तिबेलाको विश्वको कुल जनसंख्याको एक तिहाइ थियो । र अब १०२ वर्षपछि उनै हजुरआमाले चमात्कारिक रुपमा कोभिड–१९ लाई परास्त गर्नुभएको छ । र रोन्डास्थित आफ्नो परिवारमा खुशी ल्याउनुभएको छ ।
१०६ वर्षीय हजुरआमा अल्काला डेल भालका करिब ६० जना स्थानीय बासिन्दा सँगै कोभिड–१९ को संक्रमणको पुष्टि भयो । उहाँलाई ला लिनास्थित अस्पतालमा भर्ना गरियो । र केही दिन अघि मात्रै उहाँलाई कोभिड–१९ बाट मुक्त भएको घोषणा सहित घर फर्काइएको छ ।
एनाको जन्म सन् १९१३ को अक्टोबरमा भएको थियो । अबको छ महिनापछि उहाँको उमेर १०७ वर्ष हुनेछ । स्पेनमा उहाँ कोभिड–१९ लाई परास्त गर्नुभएको सबैभन्दा बढी उमेरका हुनुहुन्छ । विश्वब्यापी रुपमा नेदरल्याण्ड्सका १०७ वर्षीय कोरनेला रास भने विश्वकै सबैभन्दा जेठो कोभिड–१९ बाट मुक्त भएका व्यक्ति हुनुहुन्छ ।
स्थानीय सञ्चारमाध्यम मलागा होयले उहाँकी बुहारी पिक साञ्चेजलाई उद्धृत गर्दै लेखेको छ, “अस्पतालका स्वास्थ्यकर्मीले गर्नुभएको स्याहार यर्थाथमै प्रशंसनीय छ तर आमाको उमेर बढी भएकोले स्वास्थ्यकर्मी नियमित परीक्षणका लागि तत्पर नभएकोमा असन्तुष्ट छु ।”
उपचारमा संलग्न चिकित्सकले उहाँमा अत्यन्तै राम्रो परिणाम आए पनि धेरै सचेत हुन जरुरी रहेको बताउनुभयो । चिकित्सकलाई उद्धृत गर्दै मलागा होयले उहाँ एक्लै खाने, कुनै दिन बढी र कुनै दिन कम खाने गर्नुभएको र ‘वाकर’को सहयोगमा छोटो दूरी एक्लै तय गर्नुभएको उल्लेख गरेको छ । चिकित्सकहरुले उहाँमाथि विशेष निगरानी र हेरचाहको आवश्यकता औंल्याएका छन् ।
स्पेनमा उहाँ अतिरिक्त १०१ वर्षीय दुईजना महिला कोभिड–१९ को संक्रमणबाट मुक्त भएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेको छ । स्पेनमा कोभिड–१९ को संक्रमणबाट २२ हजार ५२४ जनाको मृत्यु भएको छ । ९२ हजार ३५५ जना बिरामी कोभिड–१९ को संक्रमणबाट मुक्त भएर घर फर्केका छन् ।
प्रतिक्रिया राख्नुहोस्