भारतमा जारी १९औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपिएल) मा गुजरात टाइटन्स विजयी भएको छ । आइतबार भएको दिनको पहिलो खेलमा गुजरातले चेन्नई सुपर किंग्सलाई ८ विकेटले पराजित गरेको हो ।
चेन्नईको घरेलु मैदान एम ए चिदम्बरम क्रिकेट रंगशालामा भएको खेलमा पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो । चेन्नईका लागि कप्तान रितुराज गायकवाडले ६० बलमा ६ चौका र ४ छक्का प्रहार गर्दै अविजित रहँदै ७४ रनको अर्धशतकीय पारी खेले भने शिभम दुवेले २२ रन बनाए ।
त्यस्तै जेमी ओभरटर्नले १८ रन जोड्दा कार्तिक शर्माले १५ रन बनाए । गुजरातका लागि कागिसो रबडाले तीन विकेट लिए भने अर्शद खानले दुई विकेट लिंदा मोहम्मद सिराज र मानव सुतारको भागमा समान एक-एक विकेट रह्यो । चेन्नईले दिएको १ सय ५९ रनको लक्ष्य गुजरातले १६.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।
गुजरातको लागि साई सुदर्सनले ४६ बलमा ४ चौका र ७ छक्का प्रहार गर्दै ८७ रनको अर्धशतकीय पारी खेले भने जस बटलर ३९ रनमा अविजित रहे । यस्तै कप्तान शुभमन गिल ३३ रन जोडे । चेन्नईका लागि अकिल होसेन र नुर अहमदले समान एक-एक विकेट लिए ।
जितसंगै गुजरात आठ खेलमा आठ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा छ भने समान खेलमा छ अंक जोडेको चेन्नई छैटौं स्थानमा रहेको छ ।





प्रतिक्रिया राख्नुहोस्