भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल)मा चेन्नई सुपर किंग्सले पाँचौ जित निकालेको छ । आइतबार राति भएको खेलमा सनराइजर्स हैदराबादलाई ७८ रनले पराजित गर्दै चेन्नईले प्रतियोगितामा पाँचौ जित निकालेको हो ।

चेन्नईको घरेलु मैदान एमए चिदम्बरम स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर दुई सय १२ रन बनाएको थियो । चेन्नईको लागि कप्तान ऋतुराज गायकवाडले ५४ बलमा १० चौका र तीन छक्का प्रहार गर्दै ९८ र डेरिल मिचेलले ३२ बलमा सात चौका र एक छक्काको मद्दतमा ५२ रनको अर्धशतकीय पारी खेले ।
त्यस्तै शिवम दुबेले पनि आक्रामक ब्याटिङ गर्दै २० बलमा एक चौका र चार छक्काको मद्दतले ३९ र महेन्द्र सिंह धोनीले दुई बलमा एक चौकाको मद्दतले पाँच रनमा अविजित रहे । हैदराबादको लागि भुवनेश्वर कुमार, टी. नटराजन र जयदेव उनदकटले समान १-१ विकेट लिए । चेन्नईले दिएको दुई सय १३ रनको लक्ष्य पछ्याएको हैदराबाद १८.५ ओभरमा १३४ रनमा समेटियो ।
हैदराबादका लागि एडेन मार्करामले २६ बलमा ३२ रन बनाए भने हेनरिक क्लासेनले २० रन जोडे । यस्तै अब्दुल समादले १९ रन जोड्दा नितिस कुमार रेड्डी र अविशेक शर्माले समान १५-१५ तथा ट्राभिस हेडले १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । चेन्नईको लागि तुषार देशपाण्डेले ४ विकेट लिए भने मुस्तफिजुर रहमान र मथिसा पथिरानाले २–२ विकेट लिए ।
जितसँगै चेन्नई ९ खेलमा १० अङ्क जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने समान खेलमा १० अंक नै रहेको हैदराबाद चौथो स्थानमा रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्