इन्डियन प्रिमियर लिग (आइपिएल)मा कोलकाता नाइटराइडर्सले छैटौं जित निकालेको छ । सोमबार राति भएको खेलमा दिल्ली क्यापिटल्सलाई ७ विकेटले पराजित गर्दै कोलकाताले प्रतियोगितामा छैटौं जित निकालेको हो ।

कोलकाताको घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन बनाएको थियो । दिल्लीका लागि कुलदिप यादवले अविजित रहँदै ३५ रन बनाए भने कप्तान ऋषभ पन्तले २७ रन जोडे ।
त्यस्तै, अभिषेक पोरलले १८ रन जोड्दा अक्षर पटेलले १५, पृथ्वी साहाले १३ र ज्याक फ्रेसर म्यागुर्कले १२ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । कोलकाताका लागि वरुण चक्रवतीले ३ विकेट लिए भने विवेक अरोर र हर्षित रानाले २-२ विकेट लिँदा मिचेल स्टार्क र सुनिल नारेनले समान १-१ विकेट हात पारे ।
दिल्लीले दिएको १ सय ५४ रनको लक्ष्य लिएर मैदान उत्रिएको कोलकाताले १६.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्याे । कोलकाताका लागि ओपनर फिल साल्टले ६८ रनको अर्धशतकीय पारी खेले भने कप्तान श्रेयस अय्यर ३३ र बेंकटेस अय्यर २६ रनमा अविजित रहे ।
यस्तै सुनिल नारेनले १५ रनजोड्दा रिन्कु सिंहले ११ रन बनाए । दिल्लीका लागि अक्षर पटेलले २ विकेट लिए भने लिजाद विलयम्सले एक विकेट हात पारे । जितसँगै कोलकाता ९ खेलमा १२ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने ११ खेलमा १० अंक जोडेको दिल्ली छैटौं स्थानमा रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्