रुसी सांस्कृतिक केन्द्रमा दोस्रो विश्वयुद्ध विजयको ८१ औं उत्सव
काठमाडौँस्थित रुसी दूतावासको आयोजनामा रुसी सांस्कृतिक केन्द्र, कमलपोखरीमा शुक्रबार दोस्रो विश्वयुद्धको एकासिऔँ विजयोत्सवका अवसरमा तस्विर प्रदर्शनी तथा विविध साङ्गीतिक कार्यक्रम आयोजना गरिएको छ ।
कार्यक्रम अन्तर्गत बिहान “भिक्ट्री अटो र्याली” निकालिएको थियो । विजय र “अमर रेजिमेन्ट” का झण्डाहरू फहराउँदै सजाइएका सवारी साधनहरूको र्याली नेपाल उक्त केन्द्रबाट सुरु भई रुसी दूतावाससम्म पुगेको थियो । र्यालीका सहभागीले महान दोस्रो विश्वयुद्धमा भाग लिएका आफ्ना आफन्तका तस्बिरहरू समेत बोकेका थिए ।
सोभियत सङ्घका जनताले मातृभूमिको रक्षाका लागि आफ्नो सम्पूर्ण शक्ति र स्रोत परिचालन गरेको इतिहास तस्विरका माध्यमबाट प्रस्तुत गरिएको छ ।
प्रदर्शनीको उद्घाटन नेपालका लागि नवनियुक्त रुसी महासङ्घका राजदूत एलेक्सी सुरोवत्सेभले गर्नुभयो । राजदूत सुरोवत्सेभले विजय दिवसलाई ‘आँसुका साथ मनाइने उत्सव’ भन्दै त्यसले विश्व शान्तिका लागि गरिएको बलिदानको सम्झना गराउने बताउनुभयो ।
उहाँले सोभियत सङ्घका जनताको एकता र आत्मत्याग नै विजयको प्रमुख आधार भएको उल्लेख गर्दै नाजी विचारधाराको पुनरुत्थान अस्वीकार्य छ भन्नुभयो ।
त्यस अवसरमा सोभियत तथा रुसी विश्वविद्यालयका पूर्वविद्यार्थी, मित्रकुञ्जका सदस्य तथा विभिन्न नेपाली सामाजिक संस्थाका प्रतिनिधि तथा वरिष्ठ पत्रकारहरूको उपस्थिति थियो । हरेक वर्ष मे ९ मा रुसी महासङ्घमा विजयोत्सव मनाइन्छ ।





प्रतिक्रिया राख्नुहोस्