जन सरोकार

नेपालको कोरोना संक्रमण नयाँ चरणमा- पहिलोपटक पत्रकार र स्वास्थ्यकर्मी संक्रमित

मंगलबार पत्रकार र स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि नेपालमा कोरोना भाइरस संक्रमण नयाँ चरणमा पुगेको देखिएको छ । वीरगञ्जका चारजना पत्रकार र तौलिहवा अस्पतालमा कार्यरत एक २५ बर्षीया स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको हो ।



पर्याप्त सावधानी नअपनाउँदा कपिलवस्तुमा अब समुदायस्तरमै कोरोना संक्रमण फैलिएको छ । समाचार अनुसार अस्पतालमा स्वाब संकलन गरिएका नौजनामा एकजनाको रिपोर्ट पोजेटिभ र बाँकी ८ जनाको रिर्पोट नेगेटिभ आएको हो । कपिलवस्तु नगरपालिकाभित्र क्वारेन्टाइनमा बसेकाहरुको थ्रोट स्वाब संकलन गर्ने क्रममा तौलिहवा अस्पतालकी स्वास्थ्यकर्मीलाई पनि कोरोना पुष्टि भएको हो ।
भारतबाट आएकाहरुमा देखिएको संक्रमण अब स्थानीयस्तरमै फैलिएको हो ।

संक्रमित स्वास्थ्यकर्मी क्वारेन्टाइनमा नबसी आफ्नै घरमा जाने गरेकी थिइन् । उनी कार्यरत तौलिहवा अस्पतालमा स्थायी र करार गरी ६७ जना स्वास्थ्यकर्मीहरु काम गरिरहेका छन् । संक्रमित स्वास्थ्यकर्मीसहित अरुको स्वाब संकलन गरिए पनि उनीहरुलाई क्वारेन्टाइन राखिएको थिएन ।

स्वास्थ्य मन्त्रालयले मंगलबार सार्वजनिक गरेको विवरणमा कपिलवस्तुमा ८ जना संक्रमित थपिएका छन् । ती सबै कपिलवस्तु नगरपालिकाका बासिन्दा हुन् । जसमध्ये एकजना तौलिहवा अस्पतालमा कार्यरत महिला स्वास्थ्यकर्मी रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

मंगलबार संक्रमण पुष्टि भएका ८ जनासहित कपिलवस्तुमा कोरोना संक्रमितको संख्या २९ पुगेको छ । संक्रमित स्वास्थ्यकर्मीसहित ७ जनालाई मंगलबार नै बुटवलस्थित प्रदेश कोरोना अस्पताल लगिएको छ ।

उनीहरुसँग सम्पर्कमा अस्पताल सम्पर्कमा आएकाहरुलाई तत्काल क्वारेन्टाइनमा राखिने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिनुभयो ।

तौलिहवा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी संक्रमित भएपछि अहिले जिल्लाभरका स्वास्थ्यकर्मी त्रसित बनेका छन् । संक्रमण देखिएका ५ वटा स्थानीय तहका फिल्डमा खटिने सबै स्वास्थ्यकर्मीको स्वाब जाँच गर्न स्वास्थ्यकर्मीहरुले माग गरेका छन् । जिल्ला स्वास्थ्य प्रमुख योगेन्द्र भगतका अनुसार अहिले जिल्लाभरि ६१४ जना स्वास्थ्यकर्मी कार्यरत छन् ।

सम्बन्धित खबर

Back to top button