स्पेनमा १ सय १३ वर्षीया वृद्धाले जितिन कोरोना, विश्वभर मृत्यु हुनेको संख्या तीनलाख नजिक
कोरोनाभाइरसका कारण बुधबार रातिसम्म विश्वभर २ लाख ९२ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४३ लाख ४३ हजार नाघेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार बुधबार विश्वभर २४ घण्टाको अवधिमा विश्वभर ८५ हजार ३१२ जना नयाँ संक्रमित भेटिएका थिए । अघिल्लो दिन पनि ७४ हजार २२८ जना नयाँ संक्रमित भेटिएका थिए । विगत २४ घण्टाको अवधिमा ५ हजार ३२० जनाको ज्यान गएको छ ।
प्राप्त समाचार अनुसार विश्वभर करिब ४६ हजार मानिसको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २३ लाख ९९ हजार अर्थात् करिव ९८ प्रतिशतको स्वास्थ्य अवस्था सामान्य छ ।
युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३२ हजार ६९२ जनाको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ ।
संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ६३० जनाको मृत्यु भएको छ जबकी अघिल्लो दिन यहाँ एक हजारको ज्यान गएको थियो । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ८३ हजार ४२५ पुगेको छ ।
कोरोनाभाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्समा २४ घण्टाको अवधिमा अघिल्लो दिनको झैं सामान्य रहेको छ । विगत २४ घण्टामा इटालीमा १७२, स्पेनमा १७६ र फ्रान्समा ३४८ जनाको ज्यान गएको छ । दक्षिण अमेरिकी देशहरुमध्ये कोरोनाभाइरसको इपिसेन्टरका रुपमा देखिएको ब्राजिलमा १२ हजार ४६१ जनाको मृत्यु भइसकेको छ ।
यसैबीच स्पेनकै सबैभन्दा वृद्ध ठानिएकी एक ११३ वर्षीया वृद्धा कोरोनाभाइरसमुक्त हुनु भएको छ । अवकाश जीवन बिताउने केएर होममा बस्दै आएका अरु धेरै जना वृद्धवृद्धाको मृत्यु भए पनि ११३ वर्षीया वृद्धाले कोरोनाभाइरसलाई परास्त गर्न सफल हुनु भएको छ ।
अमेरिकामा जन्मिनु भएकी मारिया ब्रानयासलाई गत अप्रिलमा कोरोना संक्रमण भएको थियो । उहाँ विगत २० वर्षदेखि स्पेनको पूर्वी शहर ओलोटको सान्टा मारिया डेल टुरा केएर होममा बस्दै आउनु भएको थियो । उहाँमा श्वासप्रश्वासको समस्या देखिएको थियो ।
केएर होमकी प्रवक्ताले मारिया बाँच्न सफल हुनुभएको र अहिले स्वास्थ्य अवस्था निकै राम्रो रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मारियाको गत साता स्वास्थ्य परीक्षण गरिएको थियो र उहाँको नतिजा नेगेटिभ देखिएको थियो ।”
तीन सन्तानकी आमा मारियालाई केही साता उहाँकै कोठामा आइसोलेसन ९एकान्तबास० मा राखिएको थियो । उहाँको देखभालका लागि एक जना कर्मचारीलाई व्यक्तिगत सुरक्षा सामग्री लगाएर खटाइएको थियो । क्याटालान टेलिभिजन टिभी३ ले शताब्दी वृद्धाको समाचार कथा प्रशारण गरेको छ । टेलिभिजन फुटेजमा मारियाले आफूलाई केएर होमका कर्मचारीले निकै माया गरेको बताउनुभएको छ ।
एक जना कर्मचारीले यति दिर्घ जीवनको रहस्य के होला भनेर सोधेको प्रश्नको जवाफमा मारियाले भन्नुभयो, “म स्वस्थ रहन पाएकामा आफूलाई निकै भाग्यमानी सम्झन्छु ।”
यस केएर होममा कोरोनासँग सम्बन्धित स्वास्थ्य जटिलताका कारण धेरै जनाको ज्यान गएको केएर होमकी प्रवक्ताले बताउनुभयो ।
मारियाका बारेमा हालैका वर्षहरुमा स्पेनी मिडियामा धेरै लेखरचना प्रकाशन भइसकेका छन् । उहाँ स्पेनमै सबैभन्दा बढी उमेरकी व्यक्तिका रुपमा सम्मानित हुनुहुन्छ ।
मारियाको जन्म अमेरिकाको सान फ्रान्सिस्कोमा मार्च ४, १९०७ मा भएको थियो । उहाँका स्पेनी बुबा अमेरिकामा पत्रकारिता हुनुहुन्थ्यो ।
मारिया आफ्ना परिवारका साथ पहिलो विश्वयुद्धताका डुंगा चढेर स्पेन फर्कनु भएको थियो । उहाँ सन् १९१८–१९ को स्पेनी फ्लु र सन् १९३६–३९ को स्पेनी गृहयुद्धमा पनि बाँच्न सफल हुनु भएको थियो ।
स्पेनी स्वास्थ्य मन्त्रालयका अनुसार हालको कोरोनाभाइरसको महामारीबाट स्पेनमा २७ हजारभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ । युरोप र अन्य क्षेत्रका मुलुकझैं स्पेनमा पनि ज्येष्ठ नागरिकहरु कोरोनाभाइरसबाट सर्वाधिक प्रभावित भएका छन् ।
प्रतिक्रिया राख्नुहोस्