माउन्टेन ड्युमा अखाद्य वस्तुको आशंका, विक्री वितरणमा रोक
गर्मी बढ्दै जाँदा चिसो पेयपदार्थ सेवा गर्ने क्रमसंगै यस्ता पेयपदार्थको गुणस्तरमा गम्भीर प्रश्न उठेको छ । पछिल्लो समय माउन्टेन ड्युमा आद्य वस्तु रहेको आशंका गर्दै अनुसन्धान सुरु भएको छ ।
समाचार अनुसार काठमाडौंको तारकेश्वर नगरपालिका क्षेत्रमा बस्ने एक उपभोक्ता माउन्टेन ड्यु पिउनासाथ बान्ता भई बिरामी परेको घटना सार्वजनिक भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उत्पादक कम्पनीमाथि कडा निगरानी र अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।
घटनासम्बन्धी भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएलगत्तै विभागको ‘र्यापिड रेस्पोन्स टिम’ ले बरुण बेभरेज ९नेपाल० प्रालिमा तत्काल अनुगमन गरी प्रारम्भिक छानबिन सुरु गरेको हो ।
विभागका अनुसार उपभोक्ताले सेवन गरेको पेय पदार्थ ब्याच नम्बर १६८ र उत्पादन मिति ०३/०४/२६ उल्लेख भएको २५० मिलिलिटर प्याकको माउन्टेन ड्यु रहेको पुष्टि भएको छ ।
अनुगमन टोलीले उद्योगको गोदाम निरीक्षण गर्दा सोही ब्याचका २४ बोतल रहेको एक क्रेट मात्र बाँकी भेटिएको तथा बाँकी उत्पादन यसअघि नै बजारमा पठाइसकिएको पाइएको विभागले जनाएको छ ।
उक्त ब्याचको उत्पादनमा कैफियत देखिएको आशंकापछि विभागले थप अनुसन्धानका लागि गोदामबाट नमुना संकलन गरी प्रयोगशाला परीक्षणका लागि पठाएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम बरुण बेभरेज -नेपाल) प्रालिलाई उक्त ब्याचमा प्रयोग गरिएको कच्चापदार्थको विस्तृत विवरण तथा खाद्य स्वच्छतासम्बन्धी सम्पूर्ण अभिलेख पाँच दिनभित्र विभागमा पेस गर्न निर्देशन दिएको छ ।
साथै, प्रयोगशालाको अन्तिम प्रतिवेदन प्राप्त नभएसम्म ब्याच नम्बर १६८ अन्तर्गतका कुनै पनि उत्पादन बिक्री–वितरण नगर्न तथा यसबारे सम्बन्धित डिलरहरूलाई समेत जानकारी गराउन कम्पनीलाई निर्देशन दिइएको विभागले जनाएको छ ।





प्रतिक्रिया राख्नुहोस्