विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक शृङ्खलाअन्तर्गत स्कटल्याण्डविरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको स्कटल्याण्डले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला बलिङ गर्ने भएको हो । नेपाल, अमेरिका र स्कटल्याण्डबीचको जारी शृङ्खलामा हालसम्म तीन खेल सकिएका छन् । जसमध्ये स्कटल्याण्डले आफ्ना दुवै खेलमा विजयी भएको छ ।
स्कटल्याण्डले पहिलो खेलमा नेपाललाई डकवर्थ लिइस नियमका आधारमा दुई रनले पराजित गरेको थियो भने अर्को खेलमा पनि स्कटल्याण्डले अमेरिकालाई सोही नियमका आधारमा दुई रनले नै पराजित गरेको थियो ।
तेस्रो खेल नेपाल र अमेरिकाबीच भएको थियो । गत शनिबार सम्पन्न उक्त खेलमा नेपालले अमेरिकालाई नौ विकेटले पराजित गरेको थियो । आजको खेलमा नेपाल स्कटल्याण्डलाई पराजित गर्दै विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुने सम्भावनालाई जीवितै राख्न चाहन्छ ।
आइसिसी क्रिकेट विश्वकप लिग–२ को अङ्क तालिकामा नेपाल सातौँ स्थानमा छ । नेपाल विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुन अब बाँकी सबै १० वटा खेल जित्नुपर्छ भने एकदिवसीय मान्यता जोगाउन शीर्ष छ स्थानमा रहनु आवश्यक छ । त्यसैले आजको खेल नेपालका लागि निकै महत्वपूर्ण छ ।
नेपाल अहिले २६ खेलपछि नौमा जित, १५ मा हार र दुई खेलमा अनिर्णित हुँदै २० अङ्कका साथ तालिकाको सातौँ स्थानमा छ । साथै स्कटल्याण्ड पहिलो स्थानमा छ । स्कटल्याण्डले ३० खेलमध्ये १६ मा जित, आठमा हार र छ वटा खेल अनिर्णित हुँदा कूल ३८ अङ्क जोडेको छ ।
नेपालको प्लेइङ-११
इशान पाण्डे, आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल(कप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशी





प्रतिक्रिया राख्नुहोस्