बिशेषराजनीति

नेपाली आविष्कारकका सिर्जनाहरु दर्ता गर्न नेपालमा ‘पेटेन्ट अफिस’ स्थापना गर्न माग

सूचना प्रविधि अभियन्ता तथा स्वतन्त्र सांसद महावीर पुनले नेपालमा ‘पेटेन्ट अफिस’ नहुँदा नेपाली आविष्कारकहरू आफ्ना सिर्जना दर्ता गर्न विदेश जान बाध्य भएको भन्दै त्यस्तो अवस्थाको अन्त्य हुनुपर्ने माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा बोल्दै उहाँले सो माग गर्नुभएको हो ।

नेपालमा व्यवस्थित ‘पेटेन्ट अफिस’ नहुँदा नेपाली आविष्कारकहरू आफ्ना सिर्जना दर्ता गर्न विदेश जान बाध्य भएको उल्लेख गर्दै अन्तर्राष्ट्रिय स्तरमा पेटेन्ट दर्ता प्रक्रिया अत्यन्त खर्चिलो भएकाले सरकारले त्यसमा अनुदानको व्यवस्था गर्नुपर्ने उहाँको माग थियो ।

त्यस क्रममा उहाँले विलासी वस्तु र तयारी सामानभन्दा कच्चा पदार्थ आयातमा सहुलियत दिने नीति अवलम्बन गर्नुपर्नेमा जोड दिंदै औद्योगिक विकास र आर्थिक समृद्धिका लागि अनुसन्धान तथा नवप्रवर्तनलाई उच्च प्राथमिकतामा राख्न सरकारसँग आग्रह गर्नुभयो ।

सांसद पुनले नेपालको वर्तमान कर नीति उद्योगमैत्री नभएको टिप्पणी गर्दै वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनको अनुभव सुनाउनुभयो ।

उहाँका अनुसार विदेशबाट तयारी कृषि औजार आयात गर्दा कर नलाग्ने, तर स्वदेशमै उत्पादनका लागि आवश्यक कच्चा पदार्थ आयात गर्दा चर्को भन्सार तिर्नुपर्ने अवस्था रहेको छ ।

नेपालमाा तयारी सामान ल्याउनुभन्दा कच्चापदार्थ ल्याउन महंगो भएको गुनासो गर्दै नयाँ उद्यमी र आविष्कारकलाई प्रोत्साहन गर्न प्रारम्भिक चरणमा कर छुटको व्यवस्था आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “कच्चा पदार्थमा ठूलो कर लाग्दा स्वदेशी उत्पादन महँगो हुन्छ । त्यसले उद्योगहरूलाई प्रतिस्पर्धामा कमजोर बनाउँछ । विकसित मुलुकहरूले कच्चा पदार्थमा कर लगाउँदैनन्, नेपालले पनि त्यही नीति अपनाउनुपर्छ ।”

अनुसन्धान र नवप्रवर्तनको काम एक आर्थिक वर्षभित्र सीमित नहुने भएकाले यसलाई बहुवर्षीय योजना र बजेटसँग जोड्नुपर्ने सुझाव दिंदै पूँजीगत खर्चको १ प्रतिशत अनुसन्धानमा छुट्याउन माग गर्नुभयो ।

स्वदेशी प्रतिभा र प्रविधिको विकासबिनै मुलुक आत्मनिर्भर बन्न नसक्ने उल्लेख गर्दै उहाँले आगामी बजेटमा अनुसन्धान, नवप्रवर्तन र उद्योग प्रवर्द्धनका विषयलाई ठोस रूपमा सम्बोधन गर्न सरकारसँग आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.