रुसले २४ घण्टामा युक्रेनका एक हजारभन्दा बढी ड्रोन खसालेको दाबी
रुस र युक्रेनबीचको युद्ध पुनः चर्किएको छ । युद्धबिरामको प्रयास असफल भैरहेका बेला रुसले पछिल्लो २४ घण्टामा युक्रेनका एक हजार ४५ वटा ड्रोन खसालिएको दाबी गरेको छ ।
रुसी रक्षा मन्त्रालयका अनुसार हवाई रक्षा प्रणालीमार्फत युक्रेनले प्रहार गरेका एक ‘नेप्च्युन–एमडी’ निर्देशित मिसाइल र एक ‘फ्लेमिङ्गो’ क्रुज मिसाइलसमेत ध्वस्त पारिएको हो ।
रुसी समाचार संस्था आरआईए नोभोस्तीका अनुसार मन्त्रालयले युक्रेनी सेनाका ड्रोन उत्पादन तथा संयोजन केन्द्र, अस्थायी सैन्य शिविर र युक्रेनका पक्षमा लडिरहेका विदेशी भाडाका सैनिकहरूको तैनाथी स्थलमा आक्रमण गरिएको जनाएको छ ।
यसअघि आइतबार मात्रै रुसी रक्षा मन्त्रालयले रातभरिमा ५५६ वटा युक्रेनी फिक्स्ड–विङ ड्रोन खसालिएको जानकारी दिएको थियो । त्यस्तै मस्कोका मेयर सर्गेई सोब्यानिनले पछिल्लो २४ घण्टामा मस्को क्षेत्रमा १२० भन्दा बढी ड्रोन नष्ट गरिएको बताएका छन् ।
रुसी समाचार संस्था टासका अनुसार यो आक्रमण पछिल्लो एक वर्षयताकै रुसी राजधानीमाथिको सबैभन्दा ठूलो ड्रोन आक्रमण मानिएको छ ।





प्रतिक्रिया राख्नुहोस्