राजनीति

विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काइने कार्यविधि तय- पैसा तिरेर होटल क्वारेन्टाइनमा बस्न पाउने

सरकारले कोभिड–१९ को असहज परिस्थितिमा विदेशमा अलपत्र परेका नागरिकलाई स्वदेश ल्याउने भएको छ । यसका लागि कार्यविधि तयार भएको छ भने परराष्ट्र मन्त्रालयले लागत संकलन गरिसकेपछि हवाई तथा स्थलमार्गबाट स्वदेश ल्याइनेछ ।

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले स्वदेश फर्कन चाहने नेपालीलाई ल्याउने भएको समितिका प्रवक्ता नारायणप्रसाद बिडारीले बताउनुभयो ।

नेपाल आउनुपर्ने व्यक्तिमा अध्ययन समाप्त भएका विद्यार्थी, कलेज वन्द भएका विद्यार्थी, पारिवारिक पुनर्मिलनका लागि विदेश गएका जो फर्कन इच्छुक भएका, कम्पनीबाट अनिवार्य विदामा बसेका, अन्तर्राष्ट्रिय संघसंस्थामा कार्यरत रहेर नेपाल आउनुपर्ने अवस्थामा रहेका, पर्यटक र व्यापारी राहदानीमा गएकालाई स्वदेश फर्काइने छ ।

त्यसै गरी सरकारी सेवामा रही तालीम वा विदेशमा गएका व्यक्ति जो नेपाल आउन नपाएका छन तिनीहरुलाई पनि सरकारले स्वदेश ल्याउने भएको छ । यस्तै सम्बन्धित देशमा विभिन्न कारणले सजाय तोकिएर माफी पाइसकेका व्यक्ति, नेपाल आउन अनुमति प्राप्त भएका व्यक्ति जुनसुकै कारणले बर्हिगमन राहदानी पाएका व्यक्तिहरु, आफन्तको मृत्यु भई काजक्रियाका लागि नेपाल आउनुपर्ने अवस्थामा रहेका व्यक्ति रहेका छन् ।

यस्तै श्रम करार अवधि समाप्त भएर रोजगारी गुमाएका व्यक्तिहरु, कोभिड–१९ बाहेक अन्य कारणले स्वास्थ्यमा गम्भीर समस्या देखिएक व्यक्ति, सुत्केरी तथा गर्भवती महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्ति पनि आउने सूचीमा रहेका छन ।

समितिले ‘नेपाल आउने नागरिकलाई ल्याउन सम्बन्धि आदेश– २०७७’ को अनुसार कार्यदेश बनाएर ल्याउन थालेको हो । ती नागरिकलाई हवाई र स्थलमार्गहुँदै नेपाल ल्याइने छ । विदेशमा रहेका नेपाल आउनुपर्ने स्थलगत मार्ग हुदै आउँदै मानिसलाई २० नाका तोकिएको छ ।

प्रधानमन्त्री कार्यालयका सचिवसमेत रहनुभएका बिडारीका अनुसार स्थलमार्गबाट आउने नाकामा इलामको पशुपतिनगर, झापाको काँकडभिट्टा, मोरङको रानी, सप्तरीको कुनौली, सिराहाको ठाडी, सिराहाको माडर, महोत्तरीको भिट्टामोड, सर्लाहीको मङ्गलवा, रौतहटको गौर, पर्साको वीरगञ्ज, बाराको महेशपुर, रुपन्देहीको बेलहिया, कपिलवस्तुको तौलिहवा र कृष्णनगर, बाँकेको जमुनाह, बर्दियाको सुरजपुर, कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुला नाका निर्धारित भइसकेका छन् ।

सचिव बिडारीले उनीहरुलाई तत मुलुकका कूटनीतिक नियोग र राजदूतावासमा निवेदन दिएपछि स्वदेश फर्काउने उहाँले बताउनुभयो । स्वदेश फर्कनेलाई नेपाली वायुसेवा निगम र नेपालका वायु सेवाका माध्यमबाट स्वदेश ल्याइने गरी कार्ययोजना बनाइएको जानकारी दिनुभएको छ ।

छिट्टै नै विदेशबाट आउने मानिसको विवरण सङ्कलन गरी संयोजन गरिने जानकारी दिंदै भन्नुभयो, “परराष्ट्रमन्त्रालयले विवरण ल्याएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत हवाई उडानको व्यवस्थापन गरेर विदेशमा रहेका नागरिकलाई नेपाल ल्याइने छ ।”

पैसा तिरेर होटलमा बस्न पाइने

कार्ययोजना अनुसार विदेशबाट उद्धार गरिने हरेक व्यक्ति अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्नुपर्नेछ । यसमा होटल क्वारेन्टिनमा बस्ने वा सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा जाने विकल्प हुनेछ । होटलमा बस्न पहिल्यै बुक गर्नुपर्छ ।

होटल क्वारेन्टिनको व्यवस्थापन संकृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले गर्नेछ । १४ दिन क्वारेन्टिनमा बसेपछि कोरोना परीक्षण गरेर घर जान पाउनेछन् । स्थानीय तहको क्वारेन्टिनमा जानेहरुलाई प्रदेशअनुसार तोकिएको होल्डिङ प्वाइन्टमा राखिनेछ । र, सातै प्रदेशका लागि फोकल पर्सन तोकिएका मन्त्रीहरुले सम्बन्धित जिल्ला प्रशासन र स्थानीय तहसँग समन्वय गरेर उनीहरुलाई पठाइने छन् । उनीहरु स्थानीय तहको क्वारेन्टाइनमा १४ दिन अनिवार्य बस्नुपर्छ ।

यसमा पनि सक्नेले आफैं खर्च व्यहोर्ने, नसक्नेहरुको हकमा वैदेशिक रोजगार सम्बधी कोषमा रहेको रकम प्रयोग गर्ने योजना रहेको छ । विदेशबाट ल्याइएका नागरिकलाई प्रदेशगत रुपमा छुट्याएर क्वारेन्टिनमा पठाउन सातै प्रदेशमा एक एक जना संघीय सरकारका मन्त्रीलाई जिम्मा दिइएको छ । तोकिएका मन्त्रीले आफ्नो जिम्मेवारीभित्रका जिल्ला र स्थानीय तहसँग समन्वय गर्नेछन् ।

संघीय सरकारले प्रदेश १ मा भौतिक पूर्वाधारमन्त्री बसन्त नेम्वाङलाई संयोजनको जिम्मेवारी दिएको छ । त्यस्तै प्रदेश २ मा श्रममन्त्री रामेश्वर राय, वाग्मतीमा महिला वालवालिकामन्त्री पार्वत गुरुङ, गण्डकी प्रदेशमा भूमि व्यवस्थामन्त्री पद्मा अर्याल, प्रदेश ५ मा उर्जामन्त्री वर्षमान पुन, कर्णालीमा वनमन्त्री शक्ति बस्नेत र सुदूरपश्चिममा उद्योगमन्त्री लेखराज भट्टले संयोजन गर्नुहुनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.