सुर्तीजन्य पदार्थमा कर बढ्यो
सरकारले सुर्तीरहित पान मसला र सुगन्धित सुपारीको अन्तःशुल्क बढाएको छ ।
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शुक्रबार प्रस्तुत गर्नुभएको आर्थिक विधेयकमा उक्त शुल्क वृद्धि गरिएको हो । यस्तै सुर्तीजन्य पदार्थमा लाग्ने कर पनि वृद्धि भएको छ । बजेटमार्फत चुरोटमा १० प्रतिशत अन्तःशुल्क निर्धारण गरिएको छ ।
अन्तःशुल्कको वृद्धिपछि नेपालमा सुर्तीजन्य पदार्थको करको दर ५१ प्रतिशत बराबर पुगेको छ । विश्व स्वास्थ्य सङ्गठनले सुर्तीजन्य पदार्थमा ७५ प्रतिशतसम्म कर लगाउनुपर्ने उल्लेख गर्दैआएको छ । स्वास्थ्य जोखिमलाई ख्याल गरेर करको दरमा वृद्धि गर्नुपर्ने विभिन्न सरोकारवालाको माग रहँदै आएको थियो ।
यस्तै, घरजग्गा कारोबारमा लाग्दै आएको पूँजीगत लाभकरमा पनि वृद्धि भएको छ । यसअघि पाँच प्रतिशत पूँजीगत लाभकर लाग्दै आएकामा अब भने सात दशमलव पाँच प्रतिशत कर लाग्नेछ ।
यस्तै विद्युतीय सवारीसाधनमा स्वच्छ पूर्वाधार लगानी शुल्क लगाई असुल गरिने व्यवस्था आर्थिक विधेयकमा गरिएको छ । सुनचाँदी तथा तिनका गरगहना र वस्तुको बिक्री गर्दा सिप प्रवद्र्धन शुल्क लाग्ने व्यवस्था गरिएको छ ।
शिक्षा र स्वास्थ्यमा समता कर
निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्थाले विद्यार्थीबाट असुल गर्ने सबै प्रकारका शुल्कमा शिक्षा समता शुल्क लाग्ने भएको छ । त्यस्तो शुल्क गुणस्तरीय शिक्षामा पहुँच र शैक्षिक पूर्वाधार निर्माणमा खर्च गरिनेछ ।
निजी अस्पताल र स्वास्थ्य संस्थामा उपचार गर्न गएका बिरामीबाट असुल गरिने सबै प्रकारका सेवा शुल्कमा पनि स्वास्थ्य समता शुल्क लाग्ने भएको छ । यस्तो शुल्क गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच र स्वास्थ्यसम्बन्धी पूर्वाधार निर्माणमा खर्च गर्ने प्रबन्ध गरिएको छ ।


प्रतिक्रिया राख्नुहोस्