जन सरोकार

एक सय ७६ समाचारबारे प्रेस काउन्सिलमा उजुरी

चालु आर्थिक वर्षको यही जेठ ६ गतेसम्म सत्यता नै नभएका एक सय ७६ वटा समाचार प्रकाशन भएको भन्दै प्रेस काउन्सिल नेपालमा उजुरी परेको छ ।

सम्पादक समाज नेपालले आइतबार आयोजना गरेको ‘नागरिकको अपेक्षाः जिम्मेवार पत्रकारिता’ विषयक अन्तक्र्रिया कार्यक्रममा यसबारेमा जानकारी दिइयो । काउन्सिलमा दर्ता भएका उजुरीमध्ये दोस्रो सबैभन्दा बढी मानहानी सम्बन्धि रहेका छन् ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै पत्रकार तोया गौतमले सूचना विभागमा आठ हजारभन्दा बढी पत्रपत्रिका स्थायी रूपमा दर्ता भए पनि करिब पाँच हजारमात्र प्रकाशन भएर प्रेस काउन्सिल नेपालमा वर्गीकरणका लागि पुगेका जानकारी दिनुभयो ।

पत्रकारले समयअनुसार परिवर्तित प्रविधिको उपयोग गरेर पनि गुणस्तरीय पत्रकारिता गर्न सकिने उहाँले प्रस्तुत गर्नुभएको कार्यपत्रमा उल्लेख छ ।

नेपाल इन्जिनियरिङ एसोसिएसनका पूर्वकार्यकारी सदस्य इन्जिनियर उमेश गुप्ताले इन्जिनियरिङ संरचना बनेपछि प्रयोग गर्न उपयोग छ, छैन भनी सामाजिक परीक्षण गर्ने विषयलाई पनि पत्रकारले समाचार सङ्कलनको विषय बनाउनुपर्ने बताउनुभयो ।

वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन नाम चलेकै परामर्शदाता कम्पनीले पनि ‘कपीपेष्ट’ गर्ने गरेकाले यस विषयमा पनि पत्रकारिता गर्नुपर्ने उहाँको भनाइ थियो ।

काठमाडौँ महानगरपालिकाका प्रवक्ता एवं सूचना सञ्चार विभाग प्रमुख नवीन मानन्धरले सत्य र तथ्यमा आधारित पत्रकारिता हुनुपर्ने बताउँदै यस्तो पत्रकारितालाई स्थानीय सरकारले पनि सहयोग गर्ने बताउनुभयो । स्थानीय तहले गरेका गतिविधिका बारेमा राम्रोसँग समाचार सङ्कलन गरिनुपर्ने उहाँको भनाइ थियो ।

गोरखापत्र दैनिकका प्रधानसम्पादक जुनारबाबु बस्नेतले लोकतान्त्रिक शासन व्यवस्थामा सही निर्णय गर्न सही सूचना चाहिने भएकाले पत्रकारिताको महत्व रहेको बताउनुभयो । नागरिकको दैनिकीलाई सहज हुनेगरी आमसञ्चारमाध्यमले काम गर्नुपर्ने उहाँले बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाका अध्यक्ष शोभा अर्यालले सामाजिक सञ्जालमा आउने गरेका सूचना सम्पादन नभई आउने र त्यसलाई आममानिसले पत्रकारिता भनी बुझ्ने गरेकाले पत्रकारिताप्रतिको धारणा फरक भएको बताउँदै मिडिया साक्षरता दिन आवश्यक रहेकामा जोड दिनुभयो । सञ्चारमाध्यमले नागरिक अधिकारका बारेमा सुसूचित गर्नुपर्ने उहाँले बताउनुभयो ।

मध्याह्न दैनिकका सम्पादक मदनकुमार श्रेष्ठले पत्रकारिता प्रवर्द्धन गर्ने तीनवटा कानुन भए पनि गत चैत १८ गते सचिवस्तरीय निर्णय गरी सरकारी सूचना निजी क्षेत्रका सञ्चारमाध्यमलाई नदिने व्यवस्था गरेपछि पत्रकारिता क्षेत्रमा समस्या आएको बताउनुभयो ।

सेन्टर फर मिडिया रिसर्चका भुवन केसीले सामाजिक सञ्जाल बलशाली बन्दै गएकाले पत्रकारले प्रविधि र विषयवस्तुसँग नडराई पत्रकारितालाई अघि बढाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा समाजका अध्यक्ष पुरु रिसालले पत्रकारिता क्षेत्रमा काम गर्दै आएको संस्थाले यस्ता बहसलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा समाजका महासचिव श्याम डोटेल, कोषाध्यक्ष माधव दुलाललगायतले यसअघि नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिकास्थित सुइरेचौरमा रहेको संस्थाको कार्यालयमा पनि यस्तै कार्यक्रम गरिएको स्मरण गराउँदै यस्ता कार्यक्रमलाई अन्य जिल्लामा पनि विस्तार गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.