बिशेषराजनीति

सर्वदलीय बैठकमा उठे ईपीजी प्रतिवेदनदेखि भारत भ्रमणसम्मका मुद्दा

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा सम्पन्न सर्वदलीय बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू उपस्थित नभए पनि सहभागी नेताहरूले सरकारका कामकारबाहीप्रति विभिन्न प्रश्न र टिप्पणी गरेका छन्।

बैठकमा सभापति लामिछानेले रास्वपा नेतृत्वको सरकारका कामकारबाहीबारे राजनीतिक दलहरूबाट सुझाव लिन चाहेको बताउनुभएको थियो।

बैठकपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सभापति लामिछानेले सरकारका कामबारे सुझाव र टिप्पणी माग गरेको जानकारी दिनुभयो।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभापति लामिछानेको हालैको भारत भ्रमण र प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिबीच कुनै तादम्यता रहेको हो वा होइन भन्ने प्रश्न उठाएको छ। सभापति लामिछानेले आफ्नो भ्रमणबारे जानकारी गराएपछि एमालेका प्रमुख सचेतक ऐन महरले सो प्रश्न गर्नुभएको हो।

एमालेले नेपाल–भारत सम्बन्धसँग सम्बन्धित सन्धि–सम्झौताका विषयमा अध्ययन गर्न गठित प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन कार्यान्वयनबारे पनि बैठकमा प्रश्न उठाएको जनाएको छ।

बैठकमा सभापति लामिछानेले सीमा सम्बन्धी विषयमा आवश्यक परे परराष्ट्र मन्त्रीले संसद्मा नै प्रष्टीकरण दिने जानकारी गराए पनि विपक्षी दलहरू त्यसमा सन्तुष्ट नभएको बताइएको छ।

यसैबीच, प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन शाहले “नेपालले पनि भारतको जग्गा मिचेको रहेछ” भन्ने अभिव्यक्ति दिएको विषयमा प्रतिपक्षी दलहरूले आपत्ति जनाउँदै प्रमाण पेश गर्न वा उक्त अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्दै आएका छन्।

गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि रास्वपाको नेतृत्वमा एकल बहुमतको सरकार बनेको छ। दुई सिटले दुई तिहाइ बहुमत नपुगेको अवस्थामा सरकारको नेतृत्व रास्वपा संसदीय दलका नेता बालेन्द्र शाहले गरिरहनुभएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.