राजनीति

राष्ट्रिय हितको रक्षा र देशको गरिमा बढाउन कूटनीतिक शक्तिको उपयोग

सरकारले मुलुकको विशिष्ट भूराजनीतिक परिस्थिति र घोषित असंलग्न परराष्ट्र नीति अनुरुप राष्ट्रिय हितको रक्षा तथा प्रवद्र्र्धनमा कूटनीतिक शक्ति लगाइरहेको बताएको छ ।

मुलुकको अन्तर्राष्ट्रिय सम्बन्ध भूगोलको आधारमा मात्र नभई आर्थिक, सामाजिक, सांस्कृतिक, वैज्ञानिक, प्राविधिकलगायत बहुआयामिक पक्षहरुलाई दृष्टिगत गरी बाह्य सम्बन्ध कायम गर्नुपर्ने भएकाले अन्तर्राष्ट्रियस्तरमा नेपालको गरिमा अभिवृद्धिलाई केन्द्रमा राखेर उपलब्ध स्रोत र साधनले भ्याएसम्म सक्दो प्रयास गरिरहेको पनि सरकारको भनाइ छ ।

प्रतिनिधिसभामा विनियोजन विधेयक २०७७ माथिको छलफलका क्रममा परराष्ट्र मन्त्रालयसँग सम्बन्धित विषयहरूमा सांसहरूले उठाउनुभएका प्रश्नहरूको जवाफ दिँदै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राजनीतिक एवम् राज्य व्यवस्था सञ्चालनमा देखिएको स्थायित्वबाट मुलुकको कूटनीतिक प्रयासले सकारात्मक एवम् अपेक्षित परिणाम दिन थालेको बताउनुभयो ।

लामो अन्तरालपछि नेपालमा र नेपालबाट छिमेकी तथा विश्वका अन्य शक्तिराष्ट्रमा द्विपक्षीयस्तरमा भ्रमण, परामर्श तथा सहकार्य पुनः प्रारम्भ भएका, बहुपक्षीय मञ्चमा नेपालले नेतृत्वदायी तहमा निर्वाचित एवम् मनोनयन हुने अवसर प्राप्त गरेको बताउँदै उहाँले ‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’ को मूल मर्मअनुसार नेपालले विश्वका १६८ मुलुकहरुसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको जानकारी दिनुभयो ।

नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन र सुपरीवेक्षण गर्ने गुरुत्तर दायित्व बोकेको सरकारको केन्द्रीय निकायका रूपमा परराष्ट्र मन्त्रालयको प्रत्यक्ष निर्देशन, नियन्त्रण र सुपरीवेक्षणमा नेपालको परराष्ट्र सम्बन्धको कार्यान्वयन, मन्त्रालय र विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूले गरिरहेका बताउनुभयो ।

हाल विश्वका विभिन्न देशमा ३० राजदूतावास, तीन स्थायी नियोग र छ वटा महावाणिज्यदूतावास गरी ३९ नेपाली नियोग छन् भने ७१ अवैतनिक महावाणिज्यदूतले नेपालको बाह्य सम्बन्ध विस्तारमा सक्दो सहयोग गरेको उहाँको कथन थियो ।

ती निकायले मित्रराष्ट्रहरू तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरूसँग द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय सम्बन्ध विस्तार गर्ने, कूटनीतिको माध्यमबाट नेपालको राष्ट्रिय हित प्रवद्र्धन गर्ने, अन्तर्राष्ट्रिय जगत्मा नेपालको उज्यालो छवि निर्माण गर्ने, आर्थिक तथा विकास कूटनीति सञ्चालन गरी देश विकासमा सहयोग भित्र्याउन सक्दो प्रयास गरिरहेका मन्त्री ज्ञवालीले बताउनुभयो ।

सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन राहदानी विभाग, कन्सुलर सेवा विभाग तथा विदेशस्थित नेपाली नियोगहरुलाई छिटो, छरितो र सेवाग्राहीमैत्री बनाइएको बताउँदै उहाँले चालू आर्थिक वर्षकोे चैत मसान्तसम्म राहदानी विभागबाट तीन लाख ७५ हजार ४०० थान राहदानी जारी भएका तथा विदेशस्थित नियोग बाहेक कन्सुलर सेवा विभागबाट दुई लाख ६३ हजार ७५४ कागजात प्रमाणीकरण गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.