राजनीति

नेपालीहरू मनको धनी छन् : उपसभामुख राना

सङ्घीय सरकारका उपसभामुख इन्दिरा रानाले नेपालीहरू मनको धनी रहेको बताउनुभएको छ । भूकम्प, बाढीपहिरो, कोरोनालगायतका थुप्रै विपत्तिमा समेत हार नखाई मानव हितका क्षेत्रमा लागिरहेको बताउँदै उहाँले सहयोगीहरूलाई धन्यवाद व्यक्त गर्नुभयो ।

उपसभामुख राना

काभ्रेको मण्डन देउपुर नगरपालिका–९ ढाइटारमा सेवक नेपालको सहयोगमा नवनिर्मित बालगृहको उद्घाटन गर्दै उहाँले सकभर बालबच्चालाई आफ्नै परिवारसँगै राख्न आग्रह गर्नुभयो । उपसभामुख रानाले आर्थिक सङ्कटका कारण हुनपर्ने जति काम नभएको भन्दै अभावको बेला आफू नेतृत्वमा आएको बताउनुभयो । कतिपयले पहुँचका आधारमा वा अन्य बहानामा पनि बालगृहमा बालबालिका राखेको पाइएको बताउँदै उहाँले वडा कार्यालयलगायत नियमन गर्ने निकायले यसबारेमा चासो दिनुपर्ने बताउनुभयो ।

स्थानीयवासीमा फजुल खर्च नगर्न आग्रह गर्दै फजुल खर्च गर्ने रकम सामाजिक क्षेत्रमा लगानी गर्न उहाँले आग्रह गर्नुभयो । रानाले कति जना बच्चाको उद्धार गरियो र संरक्षण गरियो भन्ने रेकर्ड राख्नसमेत आग्रह गर्नुभयो । उहाँले आफूले बालबालिकाको क्षेत्रमा गरेको कामको अनुभव सुनाउँदै आगामी दिनमा समेत सहयोग, समन्वय र हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

चन्दा सङ्कलनबाटै डेढ करोडको ‘सेवक नेपाल बालगृह’
विसं २०७२ साउनमा स्थापना भएको सेवक नेपालले चन्दा सङ्कलनका माध्यमबाट काभ्रेको मण्डनदेउपुर नगरपालिका–९ ढाइटारमा बालगृह भवन निर्माण गरेको छ । असहाय र अशिक्षित बालबालिकालाई संरक्षण गर्ने योजनाका साथ उक्त भवन निर्माण गरिएको हो । अहिले यहाँ २६ बालबालिका आश्रय लिएर अध्ययन गरिरहेका छन् । भवन निर्माण र बालबालिकाको खाना, बसोबास र अध्ययनका लागि विभिन्न दातृ निकायले सहयोग गरेका छन् ।

संस्था दर्ता भएपश्चात् अनेकन परोपकारी कार्य गर्दै बालगृह सञ्चालनका लागि जग्गा खरिद तथा जग्गामा भवन निर्माणको शिलान्यास गरी कार्य अघि बढाइएको थियो । कार्यसमितिले जिम्मेवारी पाएको पहिलो बैठकबाट अभिभावकविहीन बालबालिकालाई संस्थाको आफ्नै जग्गामा बालगृह भवन निर्माण गरी संरक्षण दिने उद्देश्यले बालगृह भवन निर्माणकार्य सुरु गरिएको भवन निर्माण संयोजक केशव सापकोटाले जानकारी दिनुभयो ।

सापकोटाको संयोजकत्वमा उपसंयोजक श्रीराम क्षेत्री, सदस्य देवलाल तिमल्सिना र राजकुमार गौतमको समिति बनेको थियो । भवन निर्माणकार्य तत्काल प्रारम्भ गरी नेपाल सरकारको खरिद ऐन, २०६३ अनुसार राष्ट्रिय दैनिक पत्रिकामा भवन निर्माण सामग्री र भवन निर्माण ज्यालाको छुट्टाछुट्टै बोलपत्र गरिएको र पारदर्शी ढङ्गबाट उक्त बोलपत्रलाई सारभूतरूपमा प्रभावकारी रहेको सबैभन्दा कम दर, रेट, मूल्य प्रस्ताव गर्ने कम्पनी तथा संस्थामार्फत बालगृह भवन निर्माणकार्य सुरू गरिएको सापकोटाको भनाइ छ ।

भवन निर्माण सुरू गर्दा सेवक नेपाल संस्थासँग भवन निर्माण गर्न पर्याप्त रकम थिएन । वर्तमान कार्यसमिति तथा देश–विदेशमा रहनुभएका सम्पूर्ण अभियन्ताहरूको अदम्य साहस र सक्रियताका साथै सहयोगले बालगृह भवन निर्माणकार्य सम्पन्न गरिएको हो ।

निर्माणमा सहयोगी दाताको नामावली सेवक नेपालको कार्यालयमा राखिएको छ । उक्त तीन तलाको मुख्य भवन, दुई तलाको प्रशासनिक भवन, भान्छा, भण्डार कक्ष, खेलमैदान लगायत छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.