लागुऔषध कारोबारी पक्राउ गर्न कारको टायरमा गोली प्रहार
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरको टोलीले ललितपुरमा ठूलो मात्रामा लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ। पक्राउ गर्न खोज्दा भाग्न प्रयास गरेपछि कारको टायरमा गोली प्रहार गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
एआई सिर्जित सांकेतिक तस्वीर
पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका–३ का ३५ वर्षीय जितेन्द्र पासवान, ३२ वर्षीय भारतीय नागरिक अहमद लड्न र ३३ वर्षीय अर्का भारतीय नागरिक महमद सद्दाम रहेका छन्।
प्रहरीका अनुसार बाराको सिम्रौनगढबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०१-००१ (बीएडी ९२०१) नम्बरको रातो कारमा ठूलो परिमाणमा लागुऔषध ट्रामाडोल लुकाइ–छिपाइ ल्याइँदै गरेको सूचनाका आधारमा ब्युरोले निगरानी र पिछा गरेको थियो।
उक्त कारलाई रोक्ने प्रयास गर्दा उनीहरू भाग्न खोजेपछि नियन्त्रणका लागि कारको दायाँतर्फको टायरमा गोली प्रहार गरिएको ब्युरोले जनाएको छ। घटनास्थलबाट करिब २० हजार क्याप्सुल ट्रामाडोल र ५ थान मोबाइल फोन बरामद गरिएको छ।
सो क्रममा बा ५२ प ४५६७ नम्बरको मोटरसाइकल समेत फेला परेको प्रहरीले जनाएको छ। ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।




प्रतिक्रिया राख्नुहोस्