जन सरोकार

बाँदर, बँदेल र दुम्सी तर्साउने यन्त्रको खोजी


पाल्पामा बाँदरले सताएपछि ग्रामीण क्षेत्रका किसान हैरान भएका छन् । बाँदरले जिल्लाका ग्रामीण क्षेत्रमा कृषकले खेतबारीमा लगाएका अन्नबाली खाएर नोक्सान गर्ने र धपाउन बसेका कृषकलाई आक्रमणसमेत गर्न थालेका छन् ।

जिल्लाका उत्तरी क्षेत्र कालीनदी आसपास जंगल नजीकका बस्तीमा समेत बाँदर पसेर घरभित्रैबाट अन्न खाएर नष्ट पारेको कृषकको गुनासो छ । रामपुर नगरपालिकाका खटाङ्खेत, भलायटार, प्याक्लुक, भुजात, आँपचौर कटहरटार, एक्लेटार तथा सेराका खेतबारीमा बाँदरले अन्नबाली खाएर नोक्सान पार्ने गरेको छ ।

स्याङ्जा चापाकोट नगरपालिका –८ का कृषक टीकाराम परियारको पाल्पाको रामपुर कालीगण्डकी किनारमा खेतबारी छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गरेको बन्दाबन्दीले खेतमा राम्रोसँग आवतजावत गर्न नपाउँदा खेतको मकै बाँदरले सक्न थालेको उहाँ बताउनुहुन्छ । “बिहान उज्यालो हुनेबित्तिकै खेतमा बाँदर आउँछ, पालो लगाएर बिहानदेखि बेलुकासम्म खेतमा मकै जोगाउन कुरेर बस्नुपर्छ”, कृषक परियारले गुनासो गर्नुभयो ।

रामपुर– ८ का महेश घिमिरे अम्दाहा खेतमा आफूले लगाएको मकै बाँदरले नष्ट पारेको बताउनुहुन्छ । “हिउँदमा आलु जोगाउन मुशिकल, अहिले फेरि मकै, तरकारी र फलफूल जोगाउन मुश्किल भयो”, उहाँले भन्नुभयो, “बाँदरले मकै खाने तथा च्यातेर नष्ट पा¥यो, कोसँँग हारगुहार गर्नू ।” बाँदरले गाउँमा हुलका हुल खेतबारीमा पसेर बाली नष्ट गर्ने र धपाउन जाँदा आक्रमण गर्न आउने गरेको कृषक घिंमिरेले बताउनुभयो ।

बाँदरबाट घरका दलान र कोठामा राखेका मकैलगायत करेसाबारीमा रोपिएका तरकारी तथा फलफूल जोगाउन गाह्रो भएको स्थानीय कृषक गोविन्दप्रसाद घिमिरेको भनाइ छ । उहाँले बिहानदेखि बेलुकासम्म खेतबारीमा कुर्दा पनि वन्यजन्तुबाट बाली जोगाउन नसकिएको बताउनुभयो ।

बाँदरले बालीनाली खाने र नोक्सान गर्न थालेपछि हैरान भएका कालीनदी छेउछाउका केही कृषकले खेती गर्न समेत छाडेका छन् । घरमा रहेका महिला, बालबालिका तथा वृद्धवृद्धाले बिहानदेखि बेलुकासम्म बाँदर धपाउन समस्या भएपछि केही खेत बाँझै छाडिएको कृषक बताउँछन् । बाँदरले हैरान पार्न थालेपछि रामपुर –७ का कृषकले विकल्पमा बेसार खेती रोजेका छन् ।

यता तिनाउ गाउँपालिकामा भने बाँदर, बदेल र दुम्सीले खेती खाइदिएपछि कृषक हैरान भएका छन् । तिनाउका गड्टा, झ्याङ्ला, गणेशटोल, बगाहा, नुवाकोट, हरियालीलगायत क्षेत्रमा वन्यजन्तुले बाली खाएर नष्ट पार्ने गरेको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ती बताउनुहुन्छ । सो क्षेत्रमा बँदेलको आक्रमणबाट केही समयअघि एक बालकसमेत घाइते भएका थिए ।

तिनाउ– २ का इमानसिंह थापाले गत फागुनमा लगाइएको करीब तीन डोको बेमौसमी मकै बाँदरले खाएर नष्ट पारेको गुनासो गर्नुभयो । पछिल्लो समय दुम्सीले समेत मकै खाएर नष्ट पारेपछि खेतमा नै बिजुली बत्ती जडान गरिएको छ । तिनाउमा केही दिनअघि असिनापानीले समेत करीब रु २५ लाख बराबरको बाली नष्ट पारेको पालिकाले जनाएको छ । बाँदर, बदेल र दुम्सीबाट हैरान भएका कृषकलाई लक्ष्य गरी पालिकाको २०७७÷०७८ को बजेटमा कृषि बीमा कार्यक्रम ल्याउने तयारी रहेको गाउँपालिकाका प्रवक्ता तथा वडाध्यक्ष राजेश श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्लाका तिनाउ, बगनासकाली, तानसेन नगरपालिकाको छेर्लुङ र रम्भा गाउँपालिकामा पनि कृषकको दिनचर्या बाँदर कुरेरै बित्ने गरेको छ । बगनासकालीमा पाल्पाले गत वर्ष बाँदर नियन्त्रणका निम्ति बजेट विनियोजन गरेर बाँदर नियन्त्रण समिति गठन गरिए पनि खासै प्रभावकारी हुन सकेको छैन ।

रम्भा गाउँपालिका वडा नम्बर ३ अगाहा खोला क्षेत्रमा भने महिलाले विकल्पका रूपमा निबुवा खेती गर्न थालेका छन् । बाँदरले कागती तथा निबुवामा क्षति नगर्ने भएकाले यसबाट आम्दानी लिन थालेको उनीहरूको भनाइ छ । बाँदरले पटक पटक दुःख दिने गरेको पाल्पामा नियन्त्रणको खास योजना सफल हुन नसकेको रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारी बताउनुहुन्छ । गाउँपालिकाले कार्यक्रम नै बनाएर वन्यजन्तु संरक्षण तथा नियन्त्रणको योजना बनाए पनि त्यसको कार्यान्वयनमा समस्या भएको अध्यक्ष भण्डारीको धारणा छ ।

रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले बाँदर नियन्त्रणमा आर्थिक वर्ष २०७७÷०७८ को बजेटमा कार्यक्रम ल्याइने बताउँदै बाँदर लखेट्ने दीर्घकालीन योजना अहिलेसम्म नभएकाले पनि अलमल भइरहेको स्पष्ट पार्नुभयो । क यसका लागि तर्साउने यन्त्र, तारजालीलगायत उपयुक्त उपाय खोजिने उहाँको भनाइ छ । कृषकले भने स्थानीयस्तरमा सरकार भए पनि बाँदर नियन्त्रणका लागि ठोस योजना ल्याउन नसकेको गुनासो गरेका छन् ।

सम्बन्धित खबर

Back to top button