स्वास्थ्य

चिनीयाँ शर्तअनुसार नै खोप किन्ने तयारी, जुन महिनाभित्र ४० लाख डोज आउने

सरकारले चीनसंग एक करोड डोज खोप किन्ने प्रस्ताव गर्यो । चीनले खोप दिने तर त्यसको मूल्य सार्वजनिक नगर्ने शर्तका कारण खरीद प्रक्रिया अघि बढेन । मूल्य सार्वजनिक नगर्ने शर्त नेपालको विद्यमान कानुन विपरीत पनि हुने भएकाले सरकार हच्कियो ।

त्यस्तै खोप खरीदका लागि विश्व बैंक र एसियाली विकास बैंकको अनुदान रकम प्रयोग हुनाले मूल्य सार्वजनिक गर्नैपर्ने बाध्यता छ । तर पनि अन्य कम्पनीले खोप दिन नसक्ने भएपछि सरकारले चीनको सिनोफर्म कम्पनीसँग ४० लाख डोज कोरोना खोप खरिद गर्ने भएको छ ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ अनुसार नै कोरोना खोप खरिद प्रक्रिया अघि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिएको हो ।

चिनीया शर्त अनुसार खरीद गर्न अप्ठ्यारो भए पनि अरु कम्पनीसँग खरीद प्रक्रिया अघि नबढेपछि चिनियाँ प्रस्तावअनुसार नै सरकार ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ गर्न सहमत भएको छ । सरकारले सहमति गरे अनुसार ४० लाख खोप खरिद गर्ने र पहिलो लट जुन महिनाभित्र आउने जानकारी प्रधानमन्त्री केपी ओलीले दिनुभएको एक मन्त्रीले बताएका छन् ।

सरकारले चिनीया शर्त अनुसार खोप खरीद गरे नेपालको विद्यामान कानूनले त्यसो गर्न अनुमति दिँदैन । यस विषयलाई सरकारले कसरी सम्बोधन गर्ने केही टुंगो नलागेको र मन्त्रिपरिषदको निर्णयबारे सरकारका प्रवक्ताले औपचारिक जानकारी दिने बताइएको छ ।

बुधबार बसेको कोभिड–१९ निर्देशक समितिमा प्रधानमन्त्री ओलीले कोभिड नियन्त्रणका लागि खोप अनिवार्य भएको भन्दै ४० लाख डोज ल्याउन गृहकार्य भइरहेको बताउनुभएको थियो ।

सम्भवतः आज (बिहिबार) मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ताले यस विषयमा स्पष्ट जानकारी गराउनेछन् । चीनले नेपाललाई दिने खोप अन्य मुलुकलाई दिएकोभन्दा सस्तोमा दिने चाहना राखेकाले मूल्य सार्वजनिक गर्ने शर्त राखेको हुनसक्ने स्वस्थ्य मन्त्रालय सूत्रले बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button