नेपाली महिला राष्ट्रिय क्रिकेट टोली एसियन गेम्स छनोट हुन असफल भएको छ । आइतबार बिहान भएको तेस्रो स्थानको लागि भएको खेलमा चीनसँग डकवर्थ लुइस पद्दतीमा ५ विकेटले पराजित हुँदै एसियन गेम्स छनोट हुन असफल भएको हो ।
मलेसियाको बायोमास ओभलमा भएको खेलमा वर्षाको कारण ७ ओभरमा झारिएको थियो । टस पहिले ब्याटिङ गरेको नेपालले तोकिएको ७ ओभरमा ५ विकेट गुमाएर ५० रन बनाएको थियो । नेपालको लागि कविता कुवँरले १० बलमा २२ र कप्तान इन्दु बर्माले ११ रन बनाउनु बाहेक नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
त्यसपछि डिएस मेथडमा चीनले ४३ रनको लक्ष्य पाएको थियो । चीनले अन्तिम बलमा ५ विकेट गुमाएर लक्ष पूरा गर्यो । चीनका लागि मिनग्युए झूले १८ रन बनाइन् भने काई युज्हीले अविजित रहँदै ११ रन जोडिन् । नेपालका लागि रिया शर्माले दुई विकेट लिइन् भने सिता राना मगरको भागमा एक विकेट रह्यो ।
नेपाल एसियन गेम्स छनोट हुन नसक्दा वरियतामा नेपाल भन्दा २१ स्थान तल रहेको चीन भने एसियन गेम्समा छनोट भएको छ ।



प्रतिक्रिया राख्नुहोस्