रास्वपा महाधिवेशनमा आउने पाहुनाका लागि चितवनका होटल व्यवसायीले विशेष छुट
चितवनस्थित होटल व्यवसायीले यही सार ७ गतेदेखि ९ गतेसम्म चितवनको भरतपुरमा हुन गइरहेको सत्तारुढ दल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम केन्द्रीय महाधिवेशनमा आउने पाहुनाको सम्मानमा छुट दिने निर्णय गरेका छन् ।
महाधिवेशनको मिति नजिकिंदै गर्दा होटल व्यवसायीले पाहुनाको सम्मानमा कुनै पनि प्रकारका कमी हुन नदिने घोषणा गर्दै पाहुनाका लागि आवासमा २५ प्रतिशत, खाना र पेयपदार्थमा १० प्रतिशत छुटको निर्णय गरेका छन् ।
रास्वपाको प्रथम केन्द्रीय महाधिवेशनमा आउने प्रतिनिधि र पर्यवेक्षक पाहुनाको सम्मानमा होटल व्यवसायी र क्षेत्रीय होटल सङ्घ चितवनले सम्मानमा कुनै कमी हुन नदिने भन्दै सो निर्णय गरेका हुन् ।
होटल व्यवसायी सङ्घ चितवनका अध्यक्ष ऋषिकेश अर्यालले रास्वपाको प्रथम केन्द्रीय महाधिवेशनमा आउने पाहुनाका लागि आवासमा २५ प्रतिशत, खाना र पेयपदार्थमा १० प्रतिशत छुटको व्यवस्था गरिएको जानकारी दिनुभयो ।
भरतपुर महानगरभित्र र गैँडाकोट क्षेत्रमा रहेका होटल तथा रेष्टुरेन्टमा महाधिवेशनमा आएका पाहुनालाई छुटको व्यवस्था गरिएको हो । पाहुनाले छुट पाए नपाएको अनुगमन गर्नका लागि समितिसमेत गठन गरिएको क्षेत्रीय होटल सङ्घका अध्यक्ष ओमप्रकाश पाण्डेले बताउनुभयो ।
क्षेत्रीय होटल सङ्घमा ९० होटल रहेका छन् । ती होटलको क्षमता १० हजारजना अट्ने क्षमता रहेको छ । होटल सङ्घमा ६७१ सदस्य रहेका छन् । सङ्घभित्र चिया पसलदेखि रेष्टुराँ हुँदै होटलहरु भएकाले यकिन क्षमता भन्न नसकिने सङ्घले जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा)को महाधिवेशनका लागि गठित आवास तथा भोजन उपसमितिका संयोजक राजन गौतमले चितवनका होटलका तीन हजारभन्दा बढी कोठा रास्वपाका प्रतिनिधि र पर्यवेक्षकले भरिने बताउनुभयो ।
महाधिवेशनमा सहभागी हुने प्रतिनिधिले आवासको खर्च आफैँ व्यहोर्ने व्यवस्था गरिएका कारण होटल व्यवसायीले सम्मानसहित विशेष छुटको घोषणा गरेका हुन् ।




प्रतिक्रिया राख्नुहोस्