नेकपा स्थायी समिती बैठक- विवादित विषयमा प्रवेश नै नगरी स्थगित
असारको दोस्रो हप्तासम्म संसदबाट पारित भैसक्नुपर्ने अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौतामा निर्णय गर्न बसेको सत्तारुढ नेकपा स्थायी समिति बैठक एजेण्डामा प्रवेश नै नगरी स्थगित भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ः३० मा सुरु भएको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सम्बोधन लगत्तै शुक्रबार बस्ने गरी स्थगित भएको हो ।
अध्यक्षद्वयको धारणा र प्रतिवेदन र एजेण्डाको बिषयमा स्थायी समिति सदस्यहरुलाई अध्ययनका लागि समय आवश्यक परेको कारण बैठक पर्सिसम्म स्थगित गरिएको बताइएको छ ।
स्थायी समिति बैठकको पहिलो एजण्डा अध्यक्षद्वय ओली र प्रचण्डको मन्तब्य रहेको थियो । बैठकमा अध्यक्षद्वयले बर्तमान परिस्थिति र चाल्नुपर्ने कदमको बारेमा आफ्नो धारणा राख्नुभएको थियो । स्थायी कमिटी बैठकमा पाँच एजेण्डा तय गरिएको छ ।
दोस्रो एजेण्डाको रुपमा सरकारको कामका सम्बन्धमा एजेण्डा रहेको छ । सो एजेण्डामा कोभिड १९ नियन्त्रण, रोकथाम र उपचार सम्बन्धमा, नेपालको सिमा समस्या र समाधान सम्बन्धमा र अन्य गरी तीन बिषय समावेश गरिएको छ । यसै गरी तेस्रो एजेण्डाका रुपमा पार्टी एकताका बाँकी कामहरु राखिएको छ ।
त्यसैगरी नेकपाभित्र निकै बिवादको बिषय बनाइएको एमसिसिका सम्बन्धमा चौथो एजेण्डा राखिएको छ भने पाँचौं एजेण्डाका रुपमा बिबिध राखिएको छ ।
प्रतिक्रिया राख्नुहोस्