जापान

११ वर्षपछि जापानले जित्यो चीन र अमेरिकालाई

विश्व कोरोना भाइरस संक्रमणको महामारीका कारण शिथिल बनिरहेका बेला जापानले विश्वको सबैभन्दा छिटो सुपर कम्प्युटरको निर्माण गरेको छ । यसअघि जापानले नै बनाएको त्यस्तो कम्प्युटरलाई चीन र अमेरिकाले उछिनेको थियो भने जापानले ११ वर्षपछि पुनरागमन गरेको छ ।

फुगाकु नामको उक्त सुपर कम्प्युटर कोबे सहरस्थित रिकेन सेन्टर अफ कम्प्युटेसनल साइन्समा जडान गरिएको छ । यो कम्प्युटर एउटा कोठाको आकारको छ । करिब ६ वर्षको अथक प्रयासपछि यसको निर्माण सम्पन्न भएको बताइएको छ।

यसअघि सन् २००९ मा फुजित्सुको के कम्प्युटर नामक सुपर कम्प्युटरले विश्वको सबैभन्दा फास्ट सुपर कम्प्युटरको रुपमा पहिलो स्थान हासिल गर्न सफल भएको थियो । त्यसपछि सुपर कम्प्युटरको दौडमा अमेरिका र चीनले जापानलाई पछाडि पारेका थिए । अन्ततः जापानले अमेरिका र चीनलाई फेरि पछिपार्दै पहिलो स्थानमा उक्लिएको छ ।

राइकिन रिसर्च इन्स्टिच्युट तथा फुजित्सु लिमिटेड नामक कम्पनी मिलेर दुनियाँकै तीव्र गतिको कम्प्युटर निर्माण गरेको हो । दुनियाँकै तेज उक्त कम्प्युटरलाई कोरोना भाइरस महामारीविरुद्धको लडाइँमा प्रयोग गर्ने बताइएको छ ।

आगामी वर्ष सन् २०२१ मा यो कम्प्युटर पूर्ण रुपमा क्रियाशील हुनेछ । यसले कोरोना भाइरसको प्रभावकारी उपचारको खोजीका लागि समेत सहयोग गर्ने विश्वास गरिएको छ ।

स्मरण रहोस् आर्म कम्पनीका प्रोसेसर विश्वमा अहिले अधिकांश स्मार्टफोनहरूमा प्रयोग हुँदै आएको छ । एप्पलले पनि आफ्नो आगामी म्याक कम्प्युटरमा आर्म्स प्रोसेसर प्रयोग गर्दैछ ।

पछिल्लो तथ्यांकानुसार आइबिएमको समिट सुपर कम्प्युटर दोश्रो तेज सुपर कम्प्युटरको रुपमा रहँदा आइबिएमकै अर्को सुपर कम्प्युटर तेश्रो स्थानमा छ । चौथो र पाँचौं तेज सुपर कम्प्युटर भने चीनमा रहेका छन् ।

जापानको सुपर कम्पयुटर अमेरिकी कम्प्युटरभन्दा २।८ गुणा तेज छ । रिपोर्टअनुसार यस सुपर कम्प्युटरमा डेढ लाखभन्दा धेरै प्रोसेसर राखिएको छ । सुपर कम्प्युटरको गति मापन गर्ने इकाईअनुसार यसको क्षमता ४१५.५३ पेटाफ्लप्स छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.