विष्णु पौडेल नेपालका इमानदार र निष्ठावान् नेतामध्ये एक : सांसद कँडेल
नेकपा (एमाले)का सांसद पुष्पराज कँडेलले पार्टीका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलको पक्राउप्रति कडा आपत्ति जनाउँदै उहाँमाथि लगाइएको आरोप राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको बताउनुभएको छ।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद कँडेलले उपाध्यक्ष पौडेल एक निष्कलंकित, स्वच्छ छवि भएका र लामो राजनीतिक जीवनमा कुनै पनि भ्रष्टाचार वा अनियमिततामा संलग्न नरहनुभएका नेता रहेको दाबी गर्नुभयो।
उहाँले सरकारले आफ्नो असफलता ढाकछोप गर्न तथा अन्तर्राष्ट्रिय समुदायलाई देखाउन उच्च राजनीतिक व्यक्तित्वमाथि कारबाहीको नाटक मञ्चन गरेको आरोप लगाउनुभयो।
सांसद कँडेलले भन्नुभयो, “उपाध्यक्ष विष्णु पौडेलज्यू नेपाली राजनीतिका इमानदार र निष्ठावान् नेतामध्ये एक हुनुहुन्छ। उहाँलाई राजनीतिक प्रतिशोध साँध्ने उद्देश्यले पक्राउ गरिएको हो, यो कदम नेकपा (एमाले)लाई बदनाम गर्ने कुत्सित मनसायबाट प्रेरित छ।”
सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा गरिएको पक्राउप्रति असहमति जनाउँदै उहाँले यसलाई विपक्षी दलमाथिको दबाब र त्रास सिर्जना गर्ने रणनीतिको रूपमा व्याख्या गर्नुभयो। सांसद कँडेलले उपाध्यक्ष पौडेल निर्दोष रहेको दाबी गर्दै उहाँको तत्काल रिहाइको मागसमेत गर्नुभयो।
सांसद कँडेलले प्रधानमन्त्रीले संसद्मा दिएको ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भन्ने अभिव्यक्तिप्रति समेत आपत्ति जनाउनुभयो। उहाँले सम्बन्धित पक्षबाट समेत औपचारिक रूपमा नउठाइएको विषय प्रधानमन्त्री स्वयंले संसद्मा उठाउनु गम्भीर विषय भएको बताउनुभयो।
“देशको प्रधानमन्त्रीबाट यस्तो अभिव्यक्ति आउनु राष्ट्रिय हित र कूटनीतिक संवेदनशीलताका दृष्टिले गम्भीर विषय हो,” उहाँले भन्नुभयो।
त्यसैगरी, मन्त्रीहरूले सचिवालयमा नौ जनासम्म सल्लाहकार तथा निजी सचिव राख्न पाउने गरी तयारी भइरहेको भन्ने विषयप्रति पनि सांसद कँडेलले प्रश्न उठाउनुभयो। यदि यस्ता व्यवस्था अघि बढाइए त्यसले राज्यकोषमा अनावश्यक भार थप्ने र नीतिगत भ्रष्टाचारलाई संस्थागत गर्ने उहाँको भनाइ थियो।
उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेका छानबिन निकायहरूलाई राजनीतिक प्रतिशोधको साधनका रूपमा प्रयोग नगर्न सरकारलाई सचेतसमेत गराउनुभयो।




प्रतिक्रिया राख्नुहोस्