नेपाली राजनीतिक इतिहासमा पूर्व राष्ट्रपतिसहित चार पूर्वप्रधानमन्त्री एउटै मञ्चमा उपस्थित हुनु दुर्लभ दृश्य मानिन्छ। आइतबार राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रममा यस्तै दृश्य देखिएको छ, जसलाई वर्तमान राजनीतिक परिस्थितिमा विशेष अर्थका साथ हेरिएको छ।
जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेसनद्वारा राष्ट्रिय सभागृहमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक कार्यक्रममा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसहित चार पूर्वप्रधानमन्त्री एकै मञ्चमा सहभागी हुनुभएको हो।
कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनालको उपस्थिति रहेको थियो। लामो समयपछि शीर्ष कम्युनिस्ट नेताहरूको यस्तो सामूहिक उपस्थितिलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।
वर्तमानमा झण्डै दुई तिहाइ बहुमतको समर्थन प्राप्त सरकार सञ्चालनमा रहेका बेला सत्ताका कतिपय गतिविधि र निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै आएका पुराना कम्युनिस्ट नेताहरू एउटै मञ्चमा देखिनुलाई अर्थपूर्ण रूपमा विश्लेषण गर्न थालिएको छ।
पछिल्ला निर्वाचनहरूमा वामपन्थी शक्तिहरू विभाजित हुँदै जाँदा उनीहरूको राजनीतिक प्रभाव र संसदीय उपस्थिति समेत खुम्चिएको अवस्थामा आपसी सहकार्य र एकताका प्रयासहरूबारे चर्चा भइरहेका बेला यो कार्यक्रमले थप महत्व पाएको छ।
विश्लेषकहरूका अनुसार निर्वाचनबाट अपेक्षाकृत सानो आकारमा सीमित भएका वाम दलहरू आगामी राजनीतिक रणनीति, संसदीय सहकार्य तथा सम्भावित वाम एकताबारे गम्भीर छलफलतर्फ उन्मुख हुन थालेका संकेतहरू देखिन थालेका छन्।
त्यसैले मदन भण्डारीको विचार र योगदानलाई केन्द्रमा राखेर आयोजित यो मञ्च आगामी दिनमा बृहत्तर वाम सहकार्य वा वाम एकताको आधार बन्न सक्ने धारणा पनि राजनीतिक वृत्तमा व्यक्त हुन थालेको छ।
यद्यपि कार्यक्रममा सहभागी नेताहरूले औपचारिक रूपमा कुनै नयाँ राजनीतिक समीकरण वा एकताबारे घोषणा गरेका छैनन्। तर लामो समयपछि कम्युनिस्ट आन्दोलनका प्रमुख हस्तीहरू एउटै मञ्चमा देखिनुले नेपाली राजनीतिमा नयाँ बहसको सुरुआत भने गराएको छ।
कार्यक्रममा जननेता मदन भण्डारीको जीवन र योगदानमाथि आधारित कृति ‘श्वेतशार्दूल : मदन भण्डारीको जीवन’ का लेखक रमेश रुचेन राईलाई पुरस्कार तथा सम्मानपत्र प्रदान गर्ने कार्यक्रम समेत रहेको फाउण्डेसनले जनाएको छ।




प्रतिक्रिया राख्नुहोस्